देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ ।
सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्नसकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व सङ्कलन गरेको थियो ।
गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन गरेको थियो ।
कर्णालीमा कृषि क्षेत्र घट्यो

कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा ६.०८ प्रतिशतले घटेको हो ।
समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौँले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत, ४.१६ प्रतिशत, ४.८६ प्रतिशत, ११.५२ प्रतिशत र १.३९ प्रतिशतले घटेको छ भने तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा १४.९१ प्रतिशतले ह्रास आएको छभने फलफूल बालीले ढाकेको क्षेत्रफल २.४० प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा कर्णालीमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको तुलनामा ५.०१ प्रतिशतले घटेको छ । जस अन्तरगत खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ३.९५ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा प्रमुख खाद्य बालीमध्ये धान १०.२५, गहुँ १७.३१, कोदो २२.९२ र जौँको उत्पादन ८.५५ प्रतिशतले घटेको छ भने मकैको उत्पादन ४.२४ प्रतिशतले बढेको छ ।
आव २०८१–०८२ को असार मसान्तसम्ममा तरकारी उत्पादन र फलफूलखेतीको उत्पादन क्रमशः ०.८८ र ३६.४१ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ८.०२ प्रतिशत हिस्सा ओगटेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा ७.७० प्रतिशतले कम हो । समीक्षा वर्षमा प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत रहेको छ । बिजुलीका तार र केबल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत रहेको छ ।
गलैँचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३ दशमलव ०८ प्रतिशत छ भने औद्योगिक कर्जा गत वर्षको तुलनामा १.९४ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ भने यस प्रदेशमा भित्रिने पर्यटकको सङ्ख्या १.७२ प्रतिशतले वृद्धि भएको छ ।
भारत र चीनबाट भित्रिने पर्यटकको सङ्ख्या क्रमशः २३.८५ र २५.७७ प्रतिशतले कमी आएको छ भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या ९.१३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५.४७ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । समीक्षा वर्षमा प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १७५ कायम भएको छ भने शाखारहित बैंकिङ्ग सङ्ख्या १८ कायम भएको छ ।
समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ६६.८५ प्रतिशत रहेको छ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार आव २०८१–०८२ मा यस प्रदेशमा विद्युत् प्रसारण लाइन तीन हजार ५७५.७४ सर्किट किलोमिटर पुगेको छ । कर्णाली प्रदेशमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यले गति लिइरहेको देखिन्छ ।
