२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

मृत्युदण्डको सजाय सुनाइएपछि के भन्छिन् शेख हसिना ?

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको निर्णयको कडा निन्दा गरेकी छिन् । उनले अदालतको निर्णयलाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भनेकी छिन् । अदालतको निर्णयपछि शेख हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गरेकी छिन् ।

त्यसमा भनिएको छ, ‘मृत्युदण्ड भनेको राजनीतिक शक्तिको रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो ।’ अवामी लिग शेख हसिनाको पार्टी हो । यसअघि शेख हसिनाले मुद्दालाई ‘प्रहसन’ भनेर वर्णन गरेकी थिइन् र आफूमाथि लगाइएका सबै आरोपहरूलाई अस्वीकार गरेकी थिइन् ।

उनले भनिन्, ‘मलाई उचित न्यायाधिकरणमा मेरा अभियुक्तहरूको सामना गर्ने कुनै डर छैन, जहाँ प्रमाणहरूको वस्तुनिष्ठ रूपमा मूल्याङ्कन र जाँच गर्न सकिन्छ ।’ उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा यी आरोपहरू ल्याउन चुनौती दिइन् ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहको क्रममा शेख हसिनामाथि मानवताविरुद्धको अपराधको आरोप लगाइएको थियो । भारतमा निर्वासनमा बस्दै आएकी शेख हसिनाविरुद्धको मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार