बैतडीमा उन्नत जातका गाई भित्र्याएर दुधको आपूर्ति गर्न डेरी पसल सञ्चालन गर्दा शेरबहादुर कुँवरले समेत पहिलो पटक जातीय विभेदको पीडा खेप्नुपरेको छ । डेरी पसलमा दलित समुदायको दुध किन्न सुरु गरेपछि उहाँले जातीय विभेदको पीडा मात्रै खेपेनन्, उनको डेरी पसल नै बन्द भएको छ । दशरथ चन्द नगरपालिका–५, नौहाटका शेरबहादुर कुँवरले २६ वर्षदेखि उन्नत जातको गाई पाल्दै आएका छन् ।
जिल्ला सदरमुकामका होटेलमा दुधको आपूर्ति गर्न उनले २०५६ सालमा भारतको पिथौरागढबाट उन्नत जातको गाई भित्र्याएको बताए । उनले भने, ‘मेरो ससुराली भारतको पिथौरागढ हो । त्यहाँ उन्नत जातको गाईपालन गरेको देखेपछि २०५६ सालमा सात दिन हिँडेर उन्नत जातको गाई बैतडी ल्याएँ ।’ सदरमुकाममा मात्रै अहिले ४०० भन्दा बढी उन्नत जातका गाई रहेको दशरथ चन्द नगरपालिकाको तथ्याङ्क छ ।
‘दलित, गैरदलित सबै किसानलाई आबद्ध गरेर कामधेनु दुग्ध सहकारी खोलेँ,’ कुँवरले भने, ‘दलित समुदायको दुध किन्न सुरु मात्र के गरेको थिएँ, शेरबहादुरले त दलितको दुध किन्न थाल्यो भन्दै हल्ला फैलियो । त्योबेला दलितलाई होटेलमा प्रवेश गर्न समेत दिइँदैनथ्यो । दुध किन्ने ग्राहक भड्किएपछि डेरी पसल बन्द भयो । दुध खेर जाने अवस्था आयो ।’ कुँवरको डेरी पसल बन्द भएयता अहिले पनि दलित समुदायको दुध बिक्री हुँदैन ।
पीडा सुनाउँदै उनले थपे, ‘सदरमुकामका अधिकांश होटेलमा पाउडर दुधको चिया खानुपर्ने बाध्यता भएका बेला दुधको आपूर्ति गर्न खोज्दा जातीय विभेदको पर्खाल खडा भयो । तैपनि हिम्मत हारिनँ । गाउँभरिको दुध घरमै सङ्कलन गरेर बिक्री गर्न सुरु गरेँ ।’ डेरी बन्द भए पनि दलितलाई घरमै दुध लिन आउने सुझाव दिएपछि शेरबहादुरले जर्किनमा दुध बोकेर सरकारी कर्मचारी, सेना प्रहरीका ब्यारेक र डेरामा बस्ने दलित विद्यार्थीलाई दुधको आपूर्ति गर्न सुरु गरे ।
भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । उनलाई धर्मपत्नी देवकी कुँवरले हौसला दिइन् । कष्टका दिन सम्झिँदै देवकी कुँवरले भनिन्, ‘डेरी पसलमा दलित समुदायले सबैभन्दा राम्रो दुध ल्याउँथे । दुधको शुद्धता परीक्षण गर्दा पानीको एक थोपा पनि मिसाइएको हुँदैनथ्यो । तैपनि समाजले कुरा काट्न थालेपछि डेरी बन्द भयो ।’ उनका छोरा हेमन्त कुँवर मोटरसाइकलमै घरघरमा दुध पुर्याउँदै आएका छन् ।
डेरी पसल बन्द भए पनि कुँवर दम्पतीले उन्नत जातको गाईका बाच्छाबाच्छी हुर्काएर बिक्री गर्दै गाईपालनको यात्रा अहिलेसम्म निरन्तर चलिरहेको छ । आमाबुवाको सपनालाई छोराबुहारीले पूरा गरिरहेको हेमन्तले बताए । कुँवर दम्पतीको घरमा अहिले होलेस्टाइन ब्रिजिया जातको उन्नत गाईले दैनिक ३० लिटर दुध दिने गरेको छ । हेमन्त कुँवर दुध बेच्न बजार जाँदा मोटरसाइकलमा अन्य गाउँलेको पनि दुध बिक्री गरिदिने काममा सघाइरहेका छन् ।
उन्नत जातको बहर छैन
उन्नत जातको गाईपालन गर्दा जिल्लामा उन्नत जातको बहर नहुँदा गाईपालन गर्ने उनी जस्तै किसान समस्यामा परेका छन् । गाईको गर्भाधारण हुने बेला दुई महिनाअघि जिल्लामा बहर र कृत्रिम गर्भाधान गर्ने सुविधा नहुँदा भारतको पिथौरागढबाट पशुविज्ञ चिकित्सक बोलाएर कृत्रिम गर्भाधान गराएको कुँवर दम्पतीले बताए ।
ब्युँतियो कामधेनु गोरस भण्डार
दुध बेच्न पाइलैपिच्छे सङ्घर्ष गर्दै आएका कुँवरले हाल फेरि सदरमुकामको दशरथ चन्द नगरपालिका–४, शाहीलेक बजारमा कामधेनु गोरस भण्डार स्थापना गरेर दुग्धजन्य पदार्थ, मोही, खुवा र पनिर बनाउन सुरु गरेका छन् । सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उनले पीडा सुनाए ।
सदरमुकाममा पुनःस्थापना गरेको कामधेनु गोरस भण्डारलाई भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले खुवा बनाउने मेसिन उपकरण सहयोग गरेको छ । अहिले त समय केही फेरिएको छ । समाजमा जागरण फैलिएपछि सार्वजनिक स्थानमा दलितमाथि हुने विभेद हट्दै गएको छ । राज्य र स्थानीय तहले सहयोग गरेर दलित समुदायको दुध पुनः किन्ने अभियान जिल्लाव्यापी बनाउने सोच रहेको उनले बताए ।

