बढैयाताल गाउँपालिकामा पछिल्ला पाँच वर्षयता करिब २६ करोड रुपैयाँभन्दा बढी बेरुजु रकम हिनामिना भएको खुलासा भएको छ । यस प्रकरणमा पालिकाका लेखापाल नारायणराज त्रिपाठी मुख्य नाइकेका रूपमा देखा परेका छन् ।
महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ देखि २०८०–०८१ सम्म विभिन्न प्रमुख प्रशासकीय अधिकृतहरूसँग मिलेमतो गरेर त्रिपाठीले पालिकाको कोषबाट करोडौँ रकम हिनामिना गरेका हुन् ।
ती वर्षहरूमा पालिकामा क्रमशः अर्जुन सुवेदी, धर्मराज न्यौपाने लगायत प्रशासकीय अधिकृत रहँदा त्रिपाठी निरन्तर लेखापालको जिम्मेवारीमा थिए । प्रतिवेदनले २०७७ सालदेखि हालसम्म त्रिपाठीकै हस्ताक्षर र स्वीकृतिबाट विभिन्न शीर्षकमा रकम निकासा गरिएको उल्लेख गरेको छ ।
त्यही अवधिमा उनी दुईपटक कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत समेत बनेका थिए । सोही क्रममा कागजात नपुगी भुक्तानी, प्रमाणबिनै निकासा र पेश्की रकम नफिर्ता जस्ता अनियमितताहरू गरिएको महालेखाको निष्कर्ष छ ।
आर्थिक वर्ष २०७७–०७८ मा मात्र नौं करोड ९१ लाख रुपैयाँ बेरुजु देखिएको छ । त्यसपछि २०७८–०७९ मा आठ करोड ८५ लाख, २०७९–०८० मा छ करोड ३५ लाख, र २०८०–०८१ मा थप ९० लाख रुपैयाँ बेरुजु देखिएको छ ।
हालसम्म ४९ करोड ८८ लाख रुपैयाँसम्म बेरुजु रकम पुगेको छ, जसमा केवल ६ करोड २० लाख रुपैयाँ मात्रै फछ्यौट भएको गाउँपालिकाको तथ्यांकले जनाउँछ ।
प्रतिवेदनमा त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृतहरूबीच घनिष्ठ मिलेमतोमा अनियमितता भएको, कमिसनबिनै भुक्तानी नदिने र नजिकका व्यक्तिहरूलाई प्राथमिकतामा भुक्तानी दिने जस्ता गतिविधि उल्लेख छन् ।
गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र लेखापाल नारायणराज त्रिपाठीलाई यस विषयमा सोध्न खोज्दा फोन सम्पर्क हुन नसकेको र प्रत्यक्ष भेट्दा पनि टिप्पणी गर्न नमानेको स्रोतले जनाएको छ ।
अहिले लेखापाल त्रिपाठी अझै पदमै कार्यरत छन्, जसका कारण बेरुजु रकम असुल–उपर गर्ने प्रक्रिया अघि नबढेको स्थानीय स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले रोजगारीबाट राजीनामा दिएका छन् भने त्रिपाठीले भने अझै पनि आर्थिक कारोबारमा नियन्त्रण कायम राखेका छन् ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार, त्रिपाठीको संलग्नतामा गरिएको हिनामिना पालिकाको इतिहासकै सबैभन्दा ठूलो आर्थिक अनियमितता मानिएको छ । स्थानीय बासिन्दाले छानबिन र कडा कारबाहीको माग गरेका छन् ।
सत्यपाटी