२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

‘शहरमा फ्री वाइफाई, गाउँमा छैन फोनको सिग्नल’

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काठमाडौंका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको घोषणा गरेपछिलगत्तै पाल्पाका एक युवाले मन्त्रीलाई खुला पत्र लेख्दै देशको दुर्गम भागमा अझै पनि आधारभूत सञ्चार सुविधा नपुगेको वास्तविकता उजागर गरेका छन् ।

पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा बसोबास गर्ने मनोरथ अर्यालले सामाजिक सञ्जालमार्फत मन्त्री खरेललाई सम्बोधन गर्दै भनेका छन्, ‘हामीकहाँ अहिले पनि नेपाल टेलिकमको ‘नमस्ते’ सेवा चल्दैन । सिग्नल खोज्न मानिसहरू पहाडको टुप्पोमा पुग्छन्, र कहिलेकाहीँ आमाहरू सन्तानको आवाज सुन्न रुखमा चढ्छन् ।’

उनले पत्रमा भनेका छन्, ‘सहरमा फ्री वाइफाइको चर्चा छ, तर गाउँमा त फोन सिग्नल पनि सपना बनेको छ ।’ पत्रमा युवाले निस्दी गाउँपालिकाका वडा नं ४, ५ र ६ मा सञ्चार पहुँचको अवस्था दयनीय रहेको उल्लेख गर्दै, नेपाल टेलिकमका जीर्ण टावरहरू मर्मत गर्ने र नयाँ टावर निर्माणको पहल गर्न आग्रह गरेका छन् ।

साथै, विद्यालय र शिक्षकहरूलाई सस्तो दरमा इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने र दुर्गम गाउँमा पनि समान सञ्चार अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘सहरमा मात्र होइन, पहाड र गाउँमा पनि नेपाल बाँचिरहेको छ । कृपया दुर्गम आवाज सुन्ने कान बन्नुहोस् र हाम्रो जीवनमा सञ्चारको उज्यालो ल्याइदिनुहोस् ।’

पाल्पाबाट आएको यो खुला पत्रले देशभरका ग्रामीण बासिन्दाको साझा पीडा उजागर गरेको छ, जहाँ ‘डिजिटल नेपाल’को सपना अझै टावर नपुगेका डाँडामा अड्किएको छ । बिहान घाम छाएपछि फोन लाग्ने, पानी परेपछि फोन काटिने । यस्तै चुनौतीले दैनिक जीवनमा झन्झन् कठिनाइमा पारिरहेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार