आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर सवा लाख म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले २१ फागुनमा हुने निर्वाचनको सुरक्षाका लागि कम्तीमा एक लाख १५ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रारम्भिक खाका तयार पारेको हो ।
प्रहरी स्रोतका अनुसार, म्यादी प्रहरीको तालिम, तलब, भत्ता, पोसाक र अन्य व्यवस्थापनका लागि करिब चार अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । यस पटकको सुरक्षा योजना आमनिर्वाचन २०७९ को अनुभव र रणनीतिलाई आधार मानेर तयार पारिएको हो ।
चुनाव सुरक्षाका लागि नेपाली सेनाका सहायक रथीको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू सम्मिलित एकीकृत कार्यदल गठन भइसकेको छ । त्यस्तै, गृह मन्त्रालयले सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा छुट्टै सुरक्षा कार्यदल बनाएर गृहपक्षको तयारी अघि बढाइरहेको छ ।
सेना, प्रहरी र सशस्त्रले संयुक्त रूपमा देशभर गस्ती सुरु गरिसकेका छन् । गत २४ भदौको अशान्ति, तोडफोड र आगजनी घटनाबाट सिक्दै यसपटक सुरक्षालाई थप बलियो र समन्वित बनाउने तयारी भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
सन् २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब साढे पाँच लाख जनशक्ति तैनाथ गरिएको थियो । त्यसपटक पनि करिब एक लाख म्यादी प्रहरी परिचालन गरिएको थियो । यसपटक पनि प्रहरी जवानसरह सेवा सुविधा पाउने गरी करिब ४० दिनका लागि म्यादी खटाइने तयारी छ ।
गृह मन्त्रालयले आगामी दिनमा यस प्रस्तावलाई अन्तिम रूप दिएर केन्द्रीय सुरक्षा समितिमा पेश गर्ने र निर्वाचन आयोगसँग समन्वय गरेर पूर्ण सुरक्षा योजना लागू गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
