२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमाथि सिआइबीको छानबिन

नेपाल ट्रष्टको दरबारमार्गस्थित बहुमूल्य जग्गा लिज प्रकरणमा ठगी भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छानबिन थालेको छ । प्रारम्भिक अनुसन्धानपछि सिआइबीले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सहसचिव लेखबहादुर कार्की लाई पक्राउ गरेको जनाएको छ ।

सिआइबीका अनुसार कार्कीले लिज सम्झौतामा तोकिएको क्षेत्रफलभन्दा एक कित्ता बढी जग्गा निजी कम्पनीलाई उपलब्ध गराएका थिए । उक्त जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ कम्पनीले लिजमा लिएर सञ्चालन गर्दै आएको छ । यसै प्रकरणमा कार्कीमाथि सरकारी सम्पत्तिको दुरुपयोग र ठगी गरेको आरोप लगाइएको छ ।

सिआइबीका अनुसन्धान अधिकृतका अनुसार, नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा लिज दिने क्रममा कानुनी प्रक्रिया उल्लङ्घन भएको प्रारम्भिक प्रमाण फेला परेका छन् । घटनामा थप संलग्न व्यक्तिहरूको पहिचान र लिज सम्झौता सम्बन्धी सम्पूर्ण विवरण संकलन भइरहेको सिआइबीले जनाएको छ ।

नेपाल ट्रष्ट अन्तर्गतका सम्पत्तिहरू राज्यको स्वामित्वमा रहेकाले, त्यसको लिज, बिक्री वा हस्तान्तरणका सबै निर्णयहरू पारदर्शी र कानुनी सीमाभित्र हुनुपर्ने कानुनको व्यवस्था छ । तर, दरबार मलको लिजमा यती समूहलाई बढी क्षेत्रफल उपलब्ध गराइएको आरोपपछि सिआइबीले यो घटनालाई ‘संवेदनशील सरकारी सम्पत्ति दुरुपयोगको नमुना केस’को रूपमा लिइएको छ ।

सिआइबीले अब लिज सम्झौतामा संलग्न अन्य व्यक्तिहरूलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । यससँगै, नेपाल ट्रष्टको अन्य जग्गा लिजसम्बन्धी सम्झौताहरू पनि पुनरावलोकन गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार