पछिल्लो तीन महिनामा प्रेस स्वतन्त्रता हनन सम्बन्धी ५९ वटा घटना भएका छन् । २०८२ साउन १ गतेदेखि असोज ३१ गतेसम्म प्रेस स्वतन्त्रता हनन सम्बन्धी ५९ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
काउन्सिलका अनुसार सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ वटा भटना भएका छन् भने धम्की र दुर्व्यवहारका १०, पेशागत असुरक्षाका ८, कब्जा तथा अवरोधका ५, नीतिगत बन्देजका २ वटा घटना भएका छन् ।
यस्तै प्रदेश अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा ४, कोशीमा ३, सुदूरपश्चिममा १ वटा घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ४३ पुरुष र ३ महिला गरी ४६ जना पत्रकार पीडित भएका छन् ।
यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका २ घटना भएकामा बागमती प्रदेशमा १ र मधेस प्रदेशमा १ वटा घटना भएको पाइएको काउन्सिलले जनाएको छ । काउन्सिलले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्दै आएको छ ।
प्रेस स्वतन्त्रताको रक्षाका साथै सोको दुरूपयोग हुन नदिन सदैव सक्रिय रहँदै आएको प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतको प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको जनाएको छ ।

