२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

हङकङ सिक्सेस : भारतलाई पराजित गर्दै नेपाल विजयी

हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अन्ततः आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको रोमाञ्चक खेलमा नेपालले भारतलाई ९२ रनको विशाल अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले झन्डै विस्फोटक प्रदर्शन गर्दै निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको पहाडजस्तै योगफल तयार गर्यो । राशिद खानले मात्र १७ बलमा ५५ रन प्रहार गर्दै इनिङ्सको लय निर्धारण गरे ।

उनी रिटायर भए पनि सन्दीप जोराले अविजित ४७ रन र लोकेश बमले अविजित ३१ रनको योगदान दिए । १३८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको भारतले नेपाली बलरहरूको घातक बलिङका अगाडि टिक्न सकेन ।

तीन ओभरमै उसका सबै विकेट गुमे र टोली ४५ रनमै सीमित भयो । नेपालका राशिद खान र बसिर अहमद दुवैले तीन–तीन विकेट हात पारे । यसअघि समूह चरणका दुवै खेलमा (अफगानिस्तान र दक्षिण अफ्रिकासँग) पराजित भइसकेको नेपाल बाउल लिगमा झरेको थियो ।

बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पनि हार बेहोरेपछि शनिबारको जित नेपालका लागि आत्मविश्वास पुनःजागृत गर्ने अवसर बन्यो । अब नेपालले भोलि यूएईसँग प्रतिस्पर्धा गर्नेछ । बाउल लिगको शीर्ष दुई स्थानमा पुग्ने टोलीहरूले फाइनल खेल्ने छन् । शनिबारको जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना जीवित राखेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार