२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

करण र आयुसाले जिते राप्तीसोनारी नेचर रनको उपाधि

दोस्रो राप्तीसोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जितेका छन् । शनिवार राप्तीसोनारीको मदुवामा भएको राप्तीसोनारी नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए ।

छात्रतर्फ रामबहादुर बिक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, बिशाल सुनार, आशीक थारु शीर्ष १० भित्र परेका छन् भने छात्रातर्फ अनिसा थारु दोस्रो र अन्चल कुमारी थारु तेस्रो भए । यसमा मिना बिष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, रामकुमारी थारुले शीर्ष १० भित्र स्थान बनाए ।

पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद रु पाँच हजार, तीन हजार र एक हजार तथा पदकले पुरस्कृत गरियो । करिब १३० जनाले भाग लिएको दौडबाट शीर्ष १० जनालाई यही मंसिर ६ गते शनिवार हुने ११ औं धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिन पाउने गरी पुरस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी गराए ।

विजयी खेलाडीलाई राप्तीसोनारी गाउँपालिका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नं.५ का अध्यक्ष झगरु थारु, वडा नं.२ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्तीसोनारी खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओली लगायतले पुरस्कार वितरण गरे । कार्यवाहक अध्यक्ष खड्काले राप्तीसोनारी नेचर रनलाई गाउँ पालिकाको बार्षिक कार्ययोजनामा सम्बोधन गरिने जनाए ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्तीसोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत बर्षदेखि सुरु गरिएको हो । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत असोजमा गौघाट ग्रीन रन गरिएको थियो । काठमाडौं २५ के हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, कर्णाली हाफ म्याराथन समेत नेपालगन्ज म्याराथनकै भगिनी इभेन्टका रुपमा सञ्चालित छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार