प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज देशभर स्नान, दान, जप र ध्यान गरी मनाइँदै छ । यस पर्वमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
वैकुण्ठ चतुर्दशीका दिन भगवान् विष्णुको पूजा गरी रातभर जाग्राम बस्ने प्रचलन छ । यो चतुर्दशी शिव र विष्णु दुवैसँग सम्बन्धित रहेको मानिन्छ, जसलाई क्रमशः शिव वैकुण्ठ र विष्णु वैकुण्ठ भनिन्छ । शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशीलाई र उपवासका लागि अहोरात्रको चतुर्दशीले युक्त दिनलाई उत्तम मानिएको छ ।
पण्डित बालमुकुन्द देवकोटाका अनुसार, वैकुण्ठ भगवान् विष्णुका बहुसङ्ख्यक नाममध्ये एक हो, जसको अर्थ ‘कुण्ठा नभएको ज्ञान वा स्थान’ हुन्छ । उनले महाभारतको शान्ति पर्वलाई उद्धृत गर्दै जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रूपमा जसको प्रसिद्धि छ, त्यसलाई पनि ‘वैकुण्ठ’ भनिने बताए ।
पौराणिक मान्यता अनुसार, जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वी, जल, आकाश, वायु र तेजलाई अविचल हुने गरी मिलाएकाले उनको नाम ‘वैकुण्ठ’ रहेको हो । यस दिन पूजा गर्न नसके पनि विष्णुका नाम मात्रको उच्चारणले ठूलो पुण्य प्रदान गर्ने र आपत्विपत्बाट बचाउने विश्वास गरिन्छ ।
आजकै दिनदेखि भीष्मपञ्चक पनि सुरु हुन्छ, जुन महाभारतको शान्ति पर्वमा भीष्मले युधिष्ठिरसहित पाण्डवहरूलाई सम्पूर्ण दुःखबाट पार पाउन विष्णु स्तुति गर्न सम्झाएको समय हो । वैकुण्ठ चतुर्दशीलाई हरि (विष्णु) र हर (शिव) मिलनको उत्सव को रूपमा पनि मनाइन्छ । हरिशयनी एकादशीका दिन क्षीर सागरमा शयन गरेका विष्णुले कार्यभार भगवान् शिवलाई सुम्पिएका थिए ।
आजका दिन भगवान् शिवले सो कार्यभार विष्णुलाई दिएर कैलाश फर्कने विश्वास गरिन्छ । आजकै दिन भगवान् विष्णु पालनकर्ताका रूपमा जागा भई वैकुण्ठधाम गएको पौराणिक मान्यता रहेको पण्डित देवकोटाले बताए । काठमाडौँ उपत्यकामा रहेको विष्णुमती नदी (विष्णुपादुकाबाट उत्पत्ति भएको) र बूढानीलकण्ठको विष्णु मूर्ति यस पर्वसँग जोडिएका महत्त्वपूर्ण स्थलहरू हुन् ।
