२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

दक्षिण एसियाली मनसुन : जलवायु परिवर्तनले अस्थिर बनाएको जीवन रेखा

सत्यपाटीसत्यपाटी । नयाँदिल्ली । २०८२ असोज १२ गते आइतबार

दक्षिण एसियाको वार्षिक मनसुन वर्षा एक अर्बभन्दा बढी मानिसहरूको जीवन रेखा मानिन्छ । तर, जलवायु परिवर्तनका कारण यो अझ बढी अनियमित, घातक र विनाशकारी बन्दै गएको छ । यसमा कमजोर पूर्वाधारले प्रभावलाई झनै गहिरो बनाइरहेको विज्ञको चेतावनी छ ।

यो क्षेत्रको कृषि, खानेपानी आपूर्ति र जलविद्युत् उत्पादन प्रायः मौसमी वर्षामा निर्भर छन् । तर, पछिल्ला अध्ययनले जलवायु परिवर्तनले चरम वर्षाका विष्फोट र लामो खडेरीका चक्रलाई बढाउँदैछ भन्ने देखाउँछन् । अरबी शब्द मौसिम (मौसम)बाट व्युत्पन्न मनसुन भूमि अनि समुद्रको तापान्तरका कारण हुने हावाको उल्टो बहाव हो ।

विश्वका धेरै क्षेत्रमा यस्तो ढाँचा देखिन्छ । दक्षिण एसियामा, दक्षिणपश्चिमी मनसुन मे महिनाको अन्त्यमा दक्षिण भारतबाट सुरु भई सेप्टेम्बरसम्म उत्तरतर्फ फैलिन्छ । त्यसपछि अक्टोबरमा भूमिगत ताप घटेपछि बंगालको खाडीबाट आद्र्रता बोकेर आउने उत्तरपूर्वी मनसुनले दक्षिण भारत र श्रीलंकामा वर्षा गराउँछ ।

भारत सरकारले यसवर्ष चेतावनी दिँदै भनेको छ, ‘मनसुनले अझ बारम्बार लामो सुक्खाखण्ड र तीव्र वर्षासहित पुनःआकार लिँदैछ ।’ भारतको मौसम विज्ञान विभागका अनुसार सन् १९५० र सन् २०१५ को बीचमा चरम दैनिक वर्षाको घटना करिब ७५ प्रतिशतले बढेको छ । आधा वर्षा अब २० देखि ३० घण्टाभित्र खस्ने गरेको सरकारी तथ्यांक छ ।

पाकिस्तानमा यसवर्ष मनसुन सामान्यभन्दा चाँडो आएको र जुनको अन्त्यतिर नै ‘अत्यधिक’ वर्षा भएको मौसम विज्ञान विभागका प्रवक्ता इरफान विर्कले बताए । अगस्टको मध्यसम्ममा देशमा गत वर्षको तुलनामा ५० प्रतिशत बढी वर्षा भएको थियो । विशेषज्ञहरूका अनुसार तातो समुद्रले हावामा बढी आद्र्रता भण्डारण गर्छ, जसलाई तातो वातावरणले अझै धेरै समात्छ ।

त्यसैले वर्षा हुँदा अत्यधिक खस्छ । ‘अझ तीव्र र सम्भवतः लामो मनसुनको प्रवृत्ति देखिँदैछ,’ युनिभर्सिटी अफ न्युसाउथ वेल्सका जलवायु विज्ञ अगुस सान्टोसोले भने । तर, एल निनो र ला निना जस्ता मौसमीय चक्रले पनि मनसुन ढाँचामा ठूलो प्रभाव पार्छन् । यी चक्रहरू जलवायु परिवर्तनकै कारण अझ अनिश्चित हुँदै गएका छन् । तर, भविष्यवाणी अझै चुनौतीपूर्ण छ ।

‘हामीसँग भारतीय उपमहाद्वीप र हिमाली क्षेत्रका धेरै ठाउँमा पर्याप्त अवलोकन सञ्जाल छैन’, इस्लामिक युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिक शकिल रोम्सुले भने, ‘यसले ढाँचा बुझ्न र अनुमान गर्न कठिन बनाउँछ ।’ मनसुनकै कारण दक्षिण एसियामा बाढी र भूस्खलन नयाँ कुरा होइन । तर, पछिल्ला दशकमा घटनाहरूको संख्या तीव्ररूपमा बढेको छ ।

यस वर्षमात्र, भारतको प्रमुख कृषिक्षेत्र पञ्जावमा वर्षा औसतभन्दा दुई–तिहाइ बढी भयो, जसले खेतीपाती ध्वस्त पारेको छ । असमय वर्षाले माटोको उर्वरता, सिँचाइको तालिका र खाद्य आपूर्ति शृंखलालाई प्रभावित गरिरहेको छ । पाकिस्तानमा यो मनसुनले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गतवर्षको तुलनामा करिब तीन गुणा हो । त्यहाँ पञ्जाब क्षेत्रका हजारौं बासिन्दा विस्थापित भएका छन् ।

खराब पानीले रोग फैलाउने जोखिम बढाउँछ र लामखुट्टे जस्ताबाहकको प्रजननलाई प्रोत्साहित गर्छ । बाढीले शिक्षा, स्वास्थ्य र आजीविकामा गम्भीर असर पारेको छ । नेपालमा आधारित इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउण्टेन डेभलपमेन्ट (इसिमोड)का अनुसार हिमनदी छिटो पग्लिनु र वन विनाशले पहाडी ढलानहरूलाई कमजोर बनाउँदै घातक भूस्खलनको जोखिम बढाएको छ । त्यसमा थप, पर्याप्त वातावरणीय मूल्यांकनबिनै बनाइएका राजमार्ग, सुरुङ, बाँध र रेलमार्गले पहाडी भूगोललाई अझ असुरक्षित बनाएका छन् ।

‘द्रुत र अनियोजित विकास, वन विनाश, नदीको प्रवाह परिवर्तन र कमजोर पूर्वाधारले ढलानलाई अस्थिर बनाउँछ र प्राकृतिक जलनिकासीलाई अवरुद्ध गर्छ’, भारतको भारती इन्स्टिच्युट अफ पब्लिक पोलिसीका विज्ञ अञ्जल प्रकाशले भने । जलवायु परिवर्तन, कमजोर पूर्वाधार र अव्यवस्थित विकास मिलेर दक्षिण एसियाली मनसुनलाई अझै अप्रत्याशित र विनाशकारी बनाइरहेका छन्, जसले यस क्षेत्रमा अर्बौं मानिसको जीवनरक्षा चुनौतीमा पारेको छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार