२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday
ब्लग

सन्तानलाई हामीले कस्तो संस्कार दिने ?

साँच्चै आजका हामी अभिभावकले आधुनिकताको सिको गर्ने होडबाजीमा, सभ्यताको नाममा, हैसियत प्रदर्शन गर्ने प्रतिस्पर्धामा आफ्नो सन्तानलाई कस्तो संस्कार दिइराखेका छौं ?
कमला डिसीकमला डिसी । साहित्यकार । २०८२ भदौ १९ गते बिहीबार

विद्यालयमा सधैं अब्बल नतिजा ल्याउनेहरू सबै शिक्षित बन्दैनन्, परिवर्तन स्वीकारेर परिस्थिति अंगाल्नेहरु सबै असभ्य कहलिँदैनन् । कुरो दुई, चार दिन अगाडिको हो, सानै देखिको मेरो पूर्ण मनोरन्जनको प्रिय साधन (जुन आजसम्म पनि यथावत नै छ) सिनेमा हेर्न साथी र म फिल्म हल पुग्यौं । हामी अलि अगाडि पनि पुगेकोले र सिनेमा नेपाली भएकोले दर्शक कति आउने भन्ने चिन्तासहित कुराको मूख्य बिषय रहेको थियो ।

हलमा दर्शकको आगमन बिस्तारै बढ्दै थियो सँगसँगै हाम्रो चिन्ता बिस्तारै कम हुँदै गयो । हामी बसेको भन्दा ठिक अगाडी आठ–दश जनाको करिब दुई-साढे दुई बर्षे बालकदेखि त्यहि बालकको हजूरआमासम्मको उमेरको एक समूह आएर बस्यो । सबैभन्दा सानो बालकलाई पनि अलग्गै सिटमा एक्लै (जुन मेरो ठिक अगाडी थियो) बसाएको देख्दा र वहाँहरूको पहिरन एकआपसको बोलीचाली ब्यवहार देख्दा नेपाली सिनेमालाई माया गर्ने राम्रो र सभ्य परिवार रहेछ भन्ने मनमनै लाग्यो । सधैंझैं तोकिएको समयमै पर्दामा विज्ञापन शुरू भयो ।

सबैका आँखा पर्दातिर केन्द्रित हुनु स्वाभाविकै थियो, तसर्थ मेरो आँखा पनि उतैतिर केन्द्रित भए । पर्दातिर हेरिरहँदा मेरा आँखालाई कताकता असहज महसुस भयो । चस्माको कारणले हो कि भन्ने सोंचेर मैले चस्मा फुकालेर पुछेर पुनः लगाए । अहँ केहि फरक भएन, चस्मा त ठिकै छ लाइट नमिलेर पो हो कि जस्तो लाग्यो साथीतिर हेरेको उनको ध्यान पर्दातिर थियो र उनीलाई त्यस्तो केहि फरक परेजस्तो देखिन । यताउति हेर्दै अनि के भएको होला भनि सोंच्दै थिए एकाएक मेरा आँखा मेरो ठिक अगाडिको सिटमा बसेको बालकमा पर्न गयो ।

उ मोवाइलमा केही हेर्दै वा गेम खेल्दै रहेछ र मलाई त्यसको प्रकाशले पो असहज गराएको रहेछ । बच्चा हो एकछिनमा गेम सकिएपछि बन्द गर्ला त्यो बेलासम्म विज्ञापन नै त चलिरहेकै छ भन्ने सोंचेर म केहि नबोलेर चुप लागेर बसे । केहिबेरपछि विज्ञापन सकियो सिनेमा शुरू भयो तर बच्चाको हातमा मोवाइल चलिनैरह्यो । मलाई झन् पछि झन् हलको त्यो अध्यारोमा मोवाइलबाट निस्केको प्रकाशले झनै बढि असहज बनायो । मैले बच्चाको छेउँमा रहेकी महिलालाई विनम्रतापूर्वक बच्चाले चलाइरहेको मोवाइलको प्रकाशले मलाई हेर्न गार्हो भैरहेको कुरा जानकारी गराउँदै मोवाइल बन्द गरिदिनहुन अनुरोध गरे ।

उनले बच्चालाई केहि भनिन् र आफू सिनेमा हेर्न ब्यस्त भइन् । तर बच्चाले उनको कुरा नसुनेझै गरि मोवाइल निरन्तर चलाइरह्यो । एकछिनपछि मैले फेरि आग्रह गरे कि त मोवाइल बन्द गर्न लगाउनुहोस् कि बच्चालाई अरू सिटमा राख्नुहोस् भनेर । केहि झर्केझैं गरेर मलाई हेर्दै उनले बच्चालाई केहि भनिन् तर बच्चाले उनको कुरा नसुनेझैं गरेर मोवाइल चलाइरह्यो । मलाई पनि अब विस्तारै रिस उठ्न लाग्यो र मैले पनि अलि कडारूपमा मलाई मात्र नभै यो अँधेरोमा तपाईको बच्चाले मोवाइल चलाइरहँदा उसकै आँखालाई पनि निकै असर गर्ने कुरा गरे र यस्तो बच्चालाई हलमा नल्याउनु पथ्र्योसम्म भने ।

उनी एकाएक सिटबाट उभिएर औला उठाएर हैन तपाईले के भन्न खोज्नुभएको ? बच्चाको कुरा लिएर कति किचकिच गरेको, बच्चाले मान्दै मान्दैन त म के गरम् ? भन्दै रिसाइन् । अघिदेखि चुपचाप बसेर सबैकुरा नियालिरहेकी मेरी साथीले पनि केही शब्द जुन आमा केन्द्रित थिए उनलाई सुनाइन् । हाम्रो भनाभनले उनीहरूको समूहको केहिलाई नराम्रो लागेछ कि क्या हो फकाई फूल्याई गरेर बच्चाको बसाई त सारियो तर फिल्म चलुन्जेल त्यो बच्चाको हातमा मोवाइल रहिरह्यो र बच्चाले पनि चलाइरह्यो । फिल्म सकिएपछि साथी र मेरो कुराकानी त्यहि बच्चा उसको अटेरीपन र उसकी आमाको हामीप्रतिको बोली ब्यवहारमै केन्द्रित भइरह्यो ।

साँच्चै आजका हामी अभिभावकले आधुनिकताको सिको गर्ने होडबाजीमा, सभ्यताको नाममा, हैसियत प्रदर्शन गर्ने प्रतिस्पर्धामा आफ्नो सन्तानलाई कस्तो संस्कार दिइराखेका छौं ? हाम्रा दैनिकीमा सामान्य लाग्ने रोएर हरेर कुरा प्राप्त गर्न सकिने, मोवाइलबिनै खाना नखाइदिने, उनीहरूको पक्ष लिई अरूसँग बहस गर्नेजस्ता कुराहरूले तुरून्तै बालक खुशी भए पनि भोलीका दिनहरूमा दिर्घकालीनरूपमा बालकमा के–कस्ता असर पर्न सक्छन् सोचेका छौं त ? तसर्थ हामी अभिभाबकबाट बेलैमा होस पुर्याइएन भने पछि अधिकांश अभिभावकजस्तै पछुताउनु सिवाय केही उपाय नरहला भन्न सकिँदैन ।

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार