मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि एकसाथ गहिरो प्रभाव पारिरहेको छ । तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ भने अमेरिका, युरोप र रुसबीचको सम्बन्ध पनि थप जटिल बन्दै गएको छ । यसबीच सैन्य गतिविधि, कूटनीतिक वार्ता र आर्थिक असरहरू समानान्तर रूपमा तीव्र भएका छन् ।
ऊर्जा बजारमा सबैभन्दा स्पष्ट प्रभाव देखिएको छ । यो डेलिभरीका लागि ब्रेन्ट कच्चा तेलको मूल्य सात प्रतिशतभन्दा बढी बढेर १२६.४१ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट पनि ३.४ प्रतिशतले बढ्दै ११०.३१ डलरमा पुगेको छ । इरानमाथि अमेरिकी नाकाबन्दी कडा बनाइँदै जाँदा आपूर्ति असन्तुलनको डरले बजार उकालो लागेको हो ।
सैन्य पक्षमा, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेका ४२औँ व्यावसायिक जहाजलाई समेत सफलतापूर्वक फर्काइएको जनाएको छ । यससँगै करिब छ अर्ब डलर मूल्य बराबरको छ करोड ९० लाख ब्यारेल तेल बोकेका ४१ ट्याङ्करहरू बजारमा प्रवेश गर्न नपाएको दाबी गरिएको छ ।
यसैबीच, अमेरिका र जर्मनीबीचको सम्बन्धमा तनाव देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीले इरानविरुद्धको युद्धमा साथ नदिएपछि त्यहाँ तैनाथ ३५ हजारदेखि ५० हजार अमेरिकी सैनिक घटाउने विचार गरिरहेको बताएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले कूटनीतिक समाधानमा जोड दिँदै युद्धमा सहभागी हुन अस्वीकार गरेपछि यो विवाद चर्किएको हो ।
सत्यपाटी