२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday
बेतिथि

नेपालगन्जका नगर बस पार्किङ्गमै थन्किए, ‘करोडौँको लगानी, बालुवामा पानी’

बसहरू थन्क्याइँदा तीनका पाटपुर्जामा खिया लागेर समस्या आउने गरेको छ । करोडौँ मूल्यका नगर बस यसरी थन्क्याएर राखेर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख १७ गते बिहीबार

नेपालगन्ज उपमहानगरपालिकाले साढे तीन करोडमा खरिद गरेका नगर बस प्रयोगविहीन भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीलाई सुलभ यातायात सेवा दिने उद्देश्यले खरिद गरेका नगर बसहरू वर्षौंदेखि बसपार्कमा अलपत्र अवस्थामा थन्किएका छन् । आर्थिक वर्ष २०७५–०७६ मा कुल तीन करोड ५८ लाख ११ हजार ४१५ रुपैयाँ खर्चेर सात वटा बस खरिद गरिएको थियो । जसमा चार वटा ४१ सिटे र तीन वटा ३६ सिटे बस रहेका छन् ।

खरिद गरिएका ती बसहरू उद्देश्य अनुरूप सञ्चालन हुन सकेनन् । नगर बस सञ्चालन हुन नसक्दा ‘करोडौँको लगानी, बालुवामा पानी’ जस्तै खेर गएको छ । लामो समयसम्म सञ्चालनमा नआउँदा कतिपय बसका पाटपुर्जाहरू समेत बिग्रिने अवस्थामा पुगेका छन् । केही समय चले पनि आर्थिक पक्षसहित व्यवस्थापनमा समस्या देखिएपछि नगरबस सञ्चालन हुन नसकेको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि बोलपत्र आह्वान गरी ठेक्कामा लगाएको थियो ।

तर, ठेकेदारले समेत नियमित रुपमा बस सञ्चालन गर्न नसकेपछि वर्षौंदेखि नगर बस बसपार्कमा थन्क्याइएको छ । विपन्न नागरिकका लागि आएको बजेटबाट कार्यविधि मिचेर किनिएका बसहरू अनुत्पादक बनेका छन् । विपन्नका लागि आएको बजेटबाट किनिएका बस अहिले थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको नेपालगन्जबासीहरु बताउँछन् । एक जना स्थानीय भन्छन्, ‘ठूलो धनराशि खर्च गरेर किनेका बस सञ्चालन गर्न सकिएन भनेर उम्कन मिल्दैन ।’

उनले विपन्न नागरिकको नाममा आएको बजेटबाट किनिएका बसहरू नगरवासीलाई सेवा मात्रै दिन भए पनि सञ्चालन हुनुपर्ने बताए । बस सञ्चालनका लागि उपमहानगरपालिकाले सुरुमा आफैँले सञ्चालन गरेका बसहरूपछि ठेक्का आह्वान गरेर निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको छ । उपमहानगरपालिकाका एक कर्मचारीका अनुसार बस सञ्चालन मात्रैका लागि भएको ठेक्का आह्वानमा कुनै पनि निजी कम्पनी इच्छुक भएनन् ।

त्यसपछि बसपार्कको पार्किङ व्यवस्थापनको जिम्मेवारीसमेत हेर्ने गरी पुनः ठेक्का आह्वान भएपछि शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सले पार्किङ शुल्क र बसको आम्दानीबाफत वार्षिक एक करोड ३७ लाख ५० हजार बुझाउनुपर्ने गरी सम्झौता गरेको थियो । जिम्मा लिएको केही महिनामै नगर बसहरू बसपार्कमा थन्किए । बसहरू थन्क्याइँदा तीनका पाटपुर्जामा खिया लागेर समस्या आउने गरेको छ । करोडौँ मूल्यका नगर बस यसरी थन्क्याएर राखेर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार