कतै अंकुरित नहुँदै त कतै कोपिलामै किन झर्ने गर्छन्,
कोही सुवाश नछर्दै त कोही नफूल्दै किन झर्ने गर्छन् ।
कहलिन्छन् पूर्ण धर्ती आधा आकाश तिम्रो संसारको,
फेरि किन तिम्रै नजरमा खेलौनाको स्वरूपमा मात्र पर्ने गर्छन् ?
जन्माउने उनी, संहारने उनी, सम्हाल्ने र सजाउने पनि उनी नै तिमीलाई,
पूज्य हुनुपर्नै तिमीबाट तर तिम्रै निम्ति पापको जंघार तर्ने गर्छन् ।
छोरी, बुहारी, श्रीमती, आमा हर रूपमा रूपान्तरित हुन्छन् सजिलै,
स्वरूप परिवर्तन मात्र होइन तिम्रा निम्ति जन्मथलो छोडी सर्ने गर्छन् ।
संस्कार, कर्तव्य, बाध्यता जे जे नाम दिए पनि समाजले,
हर रूपमा रित्तिएर पूर्णतः आफू, निशर्त तिमीलाई भर्ने गर्छन् ।
मृत्यु जितेर बन्छन् सृष्टीकर्ता तिम्रो सिंगो अस्तित्वको,
तथापी आफ्नै अस्तित्व जिन्दगीभर खोज्दा खोज्दै मर्ने गर्छन् ।
प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार
कमला डिसी