बाँकेमा चालु आर्थिक वर्ष २०८१–०८२ मा १६ जना सुत्केरी र ८८ वटा शिशुको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले विभिन्न कारणले जिल्लामा १६ जना सुत्केरी आमा तथा ८८ वटा शिशुको चालु आवमा ज्यान गएको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१–०८२ को हालसम्म सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा मातृ मृत्यु सङ्ख्या पाँच रहेको छ भने शिशु मृत्यु सङ्ख्या ६० रहेको छ । सोही प्रकारले कोहलपुर नगरपालिकामा मातृ मृत्यु सङ्ख्या पाँच र शिशु मृत्यु सङ्ख्या २० रहेको छ । राप्तीसोनारीमा मातृ मृत्यु शून्य रहेको छ भने शिशु मृत्यु सङ्ख्या १ रहेको छ ।
यसैगरी बैजनाथमा मातृ मृत्यु सख्या १ र शिशु मृत्यु शून्य रहेको छ । खजुरा गाउँपालिकामा मातृ मृत्यु सङ्ख्या १ र शिशु मृत्यु शून्य रहेको छ । जानकीमा मातृ मृत्यु संख्या र शिशु मृत्यु सङ्ख्या शून्य रहेको छ । यस्तै डुडुवामा मातृ मृत्यु सङ्ख्या दुई र शिशु मृत्यु सङ्ख्या तीन रहेको छ । नरैनापुरमा मातृ मृत्यु सङ्ख्या दुई र शिशु मृत्यु मृत्यु सङ्ख्या चार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेमा कुल मातृ मृत्यु सङ्ख्या १६ र शिशु मृत्यु सङ्ख्या ८८ रहेको देखिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा मातृ मृत्यु सङ्ख्या १८ र शिशु मृत्यु सङ्ख्या १२७ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवमा सो सङ्ख्या घटेको देखिन्छ । जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९–०८० मा मातृ मृत्यु सङ्ख्या १८ थियो भने शिशु मृत्यु सङ्ख्या १४२ रहेको थियो ।
स्वास्थ कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले बाँकेमा मातृ शिशु मृत्यु बढी हुनुका विभिन्न कारण रहेको बताए । उनले ती कारणमध्ये मातृ शिशुको स्वास्थ्य चेकजाँच नहुँदा तथा उचित पोषण नहुँदा मातृ शिशु मृत्यु हुने गरेको जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार ६ देखि ५९ महिनाका बालबालिकामध्ये ४३ प्रतिशतमा रक्तअल्पता पाइएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले देशभरमा मातृशिशु मृत्युदर लुम्बिनी प्रदेशमा बढी भएको देखिएको जनाउँदै त्यसमा पनि बाँके र कपिलवस्तुको अवस्था निकै गम्भीर रहेको बताए । निमित्त प्रमुख श्रेष्ठका अनुसार स्थानीय तहमध्ये मातृशिशु मृत्युदर बाँकेको नरैनापुर र नेपालगन्जमा उच्च रहेको छ ।
