सूचनाको शक्ति - The Power Of Information

        

छाडेको गाउँमा एकसाथ फर्किए ५० परिवार

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ को चुहानछापका ५० घरपरिवार एकैसाथ गाउँ फर्किएका छन् । कृषि उद्यममार्फत आर्थिक रूपान्तरणको संकल्प बोकेर गाउँ फर्किएका नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँबासी चुहानछापलाई हराभरा बनाउन जुटेका हुन् ।

रोजगारी, अध्ययन र व्यापार व्यवसाय गर्ने उद्देश्य बोकेर २०६० सालदेखि स्थानीयवासीले गाउँ छाड्न थाले । काठमाडौंसहित विभिन्न शहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि पुग्यो । समग्रमा, गाउँ रित्तिँदै गयो । चुहानछापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बने ।

‘गाउँ फर्क’ अभियानको परिणाम

३० वर्षअघि ओखलढुङ्गाको चुहानछाप गाउँ हरियाली हराभरा थियो । खेतीयोग्य उर्वर जमिनमा स्थानीयले मानो रोपेर मुरी उब्जाउँथे । १५० घरपरिवारले पशुपालनबाट पनि मनग्गे आम्दानी गर्थे । साविक ठूलाछाप गाउँ विकास समितिको चुहानछापमा अधिकांश सुतार कार्कीको रजगज थियो । हराभरा गाउँ उजाड हुँदै गयो, उर्वर जमिन बाँझिए ।

गाउँको स्वरूपै बदलिएर जङ्गलले ढाक्यो तर रोजगारी, अध्ययन आदिका लागि गाउँ छाडेका युवा उमेर ढल्किँदै गएपछि ‘गाउँ फर्क’ अभियान चलाएर जन्मथलो फर्किए । सरकारी जागिरबाट सेवानिवृत्त भूपेन्द्र कार्कीका अनुसार सुन्दर गाउँ उजाड बनेपछि बसाइँ हिँडेकाहरूसँग पटक पटक संवाद गरेर गाउँ फर्किने अभियान सञ्चालन गरिएको हो ।

उनको घर काठमाडौंमा पनि छ तर उनले गाउँ फर्किएर आफ्नै संयोजनमा ‘गाउँ फर्क’ अभियान चलाएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, धरान, इटहरी, विराटनगरसहित सहरमा गएर बसेका ५० परिवार गाउँ फर्किएका छन् । उनका अनुसार अरू घरपरिवारलाई पनि फर्काउने तयारी भइरहेको छ ।

कार्कीकै नेतृत्वमा कालिकादेवी बहुउद्देश्यीय कृषि तथा पशुपालन कृषक समूह गठन गरेर पशुपालनका लागि फार्म, तरकारी खेतीका लागि टनेल निर्माण, बाख्रापालन, फलफूल खेतीलगायतको कामको थालनी गरिएको छ ।

शुरुमा ४० वटा राँगापालन गर्न भेटेरिनरी तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाको समन्वयमा धमाधम गोठ निर्माणको काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए । उनले सिँचाइको व्यवस्थापन गर्न पानीको स्रोत भएको खेत खरिद गरिएको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार ०८:०५

लोकप्रिय