किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा भञ्ज्याङमा भ्रमण वर्षको औपचारिक आरम्भ गरेका हुन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहले आ–आफ्नो अनुकुल महोत्सव आयोजना गरेका छन् ।
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरूपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा यामअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा साँस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए । यही माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकार, विभिन्न जातजातिको साँस्कृतिक झाँकी तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरुले जनाएको छ । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ ।
सरकारले घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’को प्रचारप्रसार तथा प्रवद्र्धनका लागि भ्रमण वर्ष २०२५ आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिए । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्यरूपमा सफल पार्ने योजनाका साथ अगाडि बढेका छौँ । यो अवधिमा करिब एक लाख पर्यटक भित्र्याउन लक्ष्य लिइएको छ,’ उनले भने, ‘मुन्दुम ट्रेल भर्जिन गन्तव्य हो । पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।’
खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि रोजाइमा पर्ने गरेको छ । २०७५ पुस २१ गते औपचारिकरूपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्ग पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने जनाइएको छ । हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत नहुने पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिए ।
पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो । ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

