सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट बर्दियामा पदमकला मृत्यु

महिलालाई बाघले आक्रमण गरेको ठाउँमा जम्मा भएका स्थानीय ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी ४० बर्षिया पदमकला थापाको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं.७ का वडाध्यक्ष कलम विष्टले सोही वडा निवासी थापाको मृत्यु भएको जानकारी दिए । उनले बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सहितको टोली लिएर बाघले आक्रमण गरेको ठाउँदेखि झन्डै सात सय मिटर भित्र गएर शव ल्याएको बताए ।

पाटे बाघले आक्रमण गरेर घिसार्दै लैजाने क्रममा ओराही खोला नजिकबाट होहल्ला गर्दै टोलीले शव ल्याएका हुन् । शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । बकुवा नजिक मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्र चौरमा बाख्रा चराउने क्रममा आइतबार दिउँसो पाटेबाघले उनलाई आक्रमण गरेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा.अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टोली खटिसकेको छ । ढाट लगायतका अन्य प्रविधिको प्रयोगबाट पाटेबाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको वरिष्ठ प्रमुख संरक्षण अधिकृत रामले बताए ।

पछिल्लो वर्ष बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटेबाघको आक्रमणमा परेर दुई जनाको ज्यान गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए । भदौ महिनामा पाटेबाघको आक्रमणबाट बाँसगढीमा एक महिलाको ज्यान गएको थियो । यस्तै गैँडा र हात्तीको आक्रमणबाट यस आर्थिक वर्षमा दुई जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २८ पुष २०८१, आइतवार १८:१४

लोकप्रिय