यौन तृष्णा मेटाउने यौन अखडाहरु बाँके जिल्लाभित्र छ्याप्छ्याप्ती छन् । बाँकेमा यौन व्यापार भित्रभित्रै यति मौलाएको छ कि त्यसको कुरा गरेर साध्य नै छैन । देह व्यापारमा उच्च ओहदाका व्यक्तिहरु समेत सक्रिय छन् । यस्तो धन्दामा पुरुषमात्रै नभई उच्च घरानाका महिलाहरु पनि सामेल भइरहेका छन् ।
जीवन साथी अर्थात् श्रीमान–श्रीमतीबीच गृह कलह आदिका साथै एकअर्कामा सहबासमा हुने अतृप्तीले पनि मानिसहरुलाई ‘बाहिरको खोजी’मा पुर्याएको देखिन्छ । अर्को कुरा, यदि नयाँ नयाँ पुरुष वा महिला खोज्दै र रोज्दै हिँड्ने लत परिसकेको छ भने त्यो बानी नमर्दासम्म पनि फेरिँदैन ।
स्मार्ट र आफ्नो यौन तृष्ण मेटाउन सक्ने खालका युवायुवतीलाई छानेर देह व्यापार भइरहेको तथ्य पनि खुलेको छ । बाँकेमा यौन व्यवसाय यति फँस्टाउदो छ कि कुरा गरेर साध्य नै छैन । खाजाघर र रेस्टुरेन्टको आवरणमा यौनधन्दा चलिरहेका छन् । अझ कलिला (भर्खर १४–१५ बर्षका) युवतीहरु यौनधन्दामा सक्रिय देखिन्छन् ।
उनीहरुलाई खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले नै यस्तो पेशामा लगाउने गरेका छन् । मिहेनत नै नगरी छिट्टै पैसा कमाइने र आफ्नो आवश्यकता पनि टार्न सकिने भएकाले कलिला युवती यौनकर्ममा सक्रिय छन् । युुवायुवतीहरु संगतका कारण खाजाघर तथा रेस्टुरेन्ट सञ्चालक, दलाल वा यौनकर्मी आदिको माध्यमबाट यो पेसामा तानिने गरेका छन् ।
नयाँ युवती आउने बित्तिकै सञ्चालकहरु स्वयम् ग्राहकसँग डिल गर्न पुग्ने गरेको पनि स्रोत बताउँछ । युवती सम्पर्कमा आउने बित्तिकै ‘नयाँ चरी’ आएकी छे, अस्तीको भन्दा नि राम्री, च्वाँक छे भन्दै खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले बार्गेनिङ गर्ने गरेका छन् । पछिल्लो चरणमा खाजाघर तथा रेस्टुरेन्टहरु यौनधन्दाका केन्द्र बन्ने गरेका छन् ।
बाँकेको नेपालगन्जका खाजाघर तथा रेस्टुरेन्टहरुमा यौन व्यवसाय मौलाउँदै गएको स्थानीयहरुको गुनासो छ । खाजाको सट्टा यौन व्यवसाय हुने यस्तो क्षेत्रमा वडा प्रहरी कार्यालय नेपालगन्जकै मिलेमतो रहेका कारण यौन व्यवसाय घट्नुको सट्टा झन् मौलाउँदै गइरहेको स्थानीयहरु बताउँछन् ।
अझ पछिल्लो समयमा यौनधन्दाको नयाँ ट्रेण्ड चलिरहेको छ । खाजा पसलका नाममा दर्ता नगरेका पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरिएको छ । दर्ता नगरेर खाजा पसलका नाममा सञ्चालन गरिएका खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप मौलाउँदै गएको छ ।
‘ए दाई जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने यौनकर्मीहरुका कारण सर्वसाधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू आइरहन्छन्,’ नाम नबताउने शर्तमा नेपालगन्जका एक जना किराना व्यवसायीले भने । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून प्रहरीले कारबाही गर्न नसकेको स्थानीयको आरोप छ ।
बाँकेमा मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर रहेको स्थानीय बताउँछन् । देहब्यापार गर्नेहरु साना, मझौला होटलमा हुने यस्ता काममा १५ सय देखि २० हजारसम्म लिने गरेका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जले सादा पोसाकमा खटाएका केही घुमुवा प्रहरीले नै यौन अखडा चलाउने, पैसा लिएर होटलको संरक्षण गर्ने गरेको स्रोत बताउँछ ।
सादा पोसाकका प्रहरीहरु यौनकर्मी महिलासँग रक्सीमा लठ्ठ भएर नाचगानमा व्यस्त हुने गरेको नेपालगन्जका एक जना व्यवसायीले बताए । बाँकेका केही होटल सञ्चालकले वडा प्रहरी कार्यालयको सेटिङ्गमा यौन व्यवसाय मौलाइरहेको छ । पछिल्लो समय दिनदहाडै होटल, रेष्टुरा तथा कोठा भाडामा लिएरै यौन व्यवसाय हुन थालेको छ ।
‘भिआइपी पाहुना आउँदा कलेज पढ्ने केटी बोलाइदिन्छु । उनीहरुको रेट पनि महंगो छ । एक रातको कम्तीमा १० हजार लिन्छन्,’ एक होटल सञ्चालकले भने, ‘अन्यत्रै जिल्लाबाट कलेज पढ्न कोहलपुरमा भाडामा बस्दै आएका केटीहरु कन्ट्रयाक्ट भिआइपी पाएपछि डिल गरेर जान्छन् । उनीहरु प्रतिदिन १० देखि ५० हजार रुपैयाँसम्म लिन्छन् ।’
श्रीमान् विदेशमा भएका, सम्बन्धबिच्छेद भएका फोनमार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्ने र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखि ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउँदै १ देखि २ हजारसम्म लिन्छन् । केही होटलमा कामदारको रुपमा युवती राख्ने र यौन व्यापार गराउने गरिएको छ ।
होटलमा नियमित कामदार भएर नै यौन बेच्ने युवतीहरु बाँकेमा धेरै छन् । पछिल्लो समय द्रुतगतीमा शहरीकरण भइरहेका बाँकेका विभिन्न शहरोन्मुख क्षेत्रमा यौन व्यवसाय बढ्दै गएको देखिन्छ । यौन व्यवसायमा लाग्नेहरु प्रायः बाहिरबाट यहाँ आउने अविवाहित युवतीहरु रहेको स्रोतको भनाई रहेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमूखकै सेटिङ्ग मिलेपछि यहाँका केही होटल तथा रेष्टुरेण्टहरूमा खुलेआम यौनधन्दा हुने गरेको स्थानीयहरु बताउँछन् । वडा प्रहरीको संरक्षणमा न्यूरोड, कारकाँदो, गुलरिया रोड, बसपार्क लगायतका क्षेत्रमा वडा प्रहरी प्रमुखले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप स्थानीयहरुको छ ।
ती क्षेत्रका केही होटल तथा रेष्टुरेण्टहरुमा प्रहरी संरक्षणमै युवती राखेर यौन अखडा चल्दै आएका छन् । प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाउन थालेको गुनासो पनि बढिरहेको छ । प्रहरीले ती होटल तथा रेष्टुरेण्टबाट महिनामा ५ हजारदेखि २५ हजार रूपैयाँसम्म बुझ्ने गरेको नेपालगन्जकै एक रेष्टुरेण्टका सञ्चालक बताउँछन् ।
ती सञ्चालकले यौन अखडा सञ्चालन गरेवापत प्रहरीलाई मासिक १५ हजार बुझाउने गरेको बताए । उनका अनुसार यस्ता अखडाहरूबाट रकम बुझ्न सादा पोसाकमा प्रहरी पुग्ने गर्छन् । मालदार मानिने वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्ज भएर आएलगत्तै यहाँका स–साना होटलमा छापा मारेर पहाडै भत्काएझैँ गरेका प्रहरी निरीक्षक अरुण बम भने त्यसपछि गुमनाम छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके