सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा १७ सय बढी नयाँ उद्योग दर्ता

चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार ७९५ वटा साना उद्योग दर्ता भएका छन् भने त्यस्ता ४१० उद्योग खारेज भएका छन् । कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् ।

सुर्खेतका १६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटका २८/२८, रुकुम पश्चिमका २२, हुम्लाका ७ र मुगुका ६ वटा उद्योग खारेज भएका छन् । अधिकांश सामान्य बासको व्यवस्था भएका होटल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग खारेज भएका निर्देशनालयका सूचना अधिकारी थीरबहादुर श्रेष्ठले बताए ।

उद्योग खारेज नगरिएपछि अर्को उद्योग खोल्न नपाइने, धेरै जरिवानामा परिने भएकाले साना लगानीमा सञ्चालित उद्योग धमाधम खारेज भएका उनले बताए । गत आर्थिक वर्षमा एक हजार ७९५ वटा उद्योग नयाँ दर्ता भएका छन् भने दुई हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सल्ल्यानमा १३२ नयाँ र २३६ नवीकरण, जाजरकोटमा १५३ नयाँ र ८३ नवीकरण, रुकुम पश्चिममा १०० र ७४ वटा उद्योग नवीकरण भएका उक्त निर्देशनालयले जनाएको छ ।

मुगुमा १११ नयाँ र ५१ वटा नवीकरण, सुर्खेतमा नयाँ ६७१ र ९२१ वटा नवीकरण भएका छन् । जुम्लामा २०४ वटा नयाँ र २३७ वटा नवीकरण भएका छन् । दैलेखमा १५६ नयाँ र १५६ वटा उद्योग नवीकरण गरिएको छ । कालीकोटमा १२२ नयाँ उद्योग दर्ता र १३१ वटा नवीकरण भएका छन्भने डोल्पामा ९३ नयाँ र ७९ वटा नवीकरण, हुम्लामा नयाँ ५३ र ८७ नवीकरण भएका निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतवार १३:२०

लोकप्रिय