सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जबाट न्यूनस्तरको चामल भारत फिर्ता

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले ८५ हजार केजी (८५० क्विन्टल) चामल भारत फिर्ता गरेको छ । विभागका अनुसार परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्यूनस्तर) पाइएपछि उक्त परिमाणको चामल बुधबार भारतमै फिर्ता गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले चामल परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक बढी भई सरकारले चामलका लागि तोकेको मापदण्ड बमोजिम न्यूनस्तर पाइएकाले भारतमै फिर्ता गरिएको जानकारी दिए ।

उनका अनुसार खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले चामल आयात गर्न नमिल्ने भनी नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको थियो । न्यूनस्तर चामलको कन्साइनमेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको जानकारी विभागमा प्राप्त भएको छ ।

साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय काँकडभिट्टा, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगन्ज, धनगढी, गट्टाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँका प्रयोगशालाबाट भन्सार विन्दुमै खाद्य पदार्थको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रूपमा गर्दै आएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ०७:५४

लोकप्रिय