सूचनाको शक्ति - The Power Of Information

        

मुस्ताङबाट बिक्री भए १६ करोडका भेडा च्याङ्ग्रा

यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडा च्याङ्ग्रामध्ये चार हजार ८०० जिल्लाभित्रका किसानले पालेका र तीन हजार २०० डोल्पा, मुगुबाट ल्याइएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार ५०० भेडा (च्यालुक) र सात हजार ५०० च्याङ्ग्रा बिक्री भएको हो । उनले भने, ‘मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन् ।’

केन्द्र मुस्ताङका प्रमुख अर्यालका अनुसार सरदर मूल्य अनुसार रु १६ बराबरको च्याङ्ग्रा बिक्री भएका छन् । गत वर्ष सात हजार भेडा च्याङ्ग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडा च्याङ्ग्रा बिक्री भएको उनले बताए ।

अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडा च्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् । जडीवुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए ।

तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङ्ग्रा रु १० हजार कम मूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार ०९:२३

लोकप्रिय