सूचनाको शक्ति - The Power Of Information

        

देशभरका विद्यालय आजदेखि तीन दिन बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ । विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आजदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन् ।

मन्त्रालय अन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ ।

भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानका कारण देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको मन्त्रालयले जनाएको छ, कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा आज बसेको विपद् सम्बन्धी आकस्मिक बैठकले विपद् व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको गरेको छ ।

साथै बैठकले हाललाई विश्वविद्यालय परिषद् लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ । मन्त्रालयले सोही अनुसार गर्न समेत अनुरोध गरेको हो । विपदबाट शैक्षिक क्षेत्रमा सिर्जित कुनै पनि प्रकारका समस्याका बारेमा मन्त्रालयका निम्नलिखित सम्पर्क नम्बरमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार ०७:२९

लोकप्रिय