सूचनाको शक्ति - The Power Of Information

        

संकटको घडीमा साल्ट ट्रेडिङको योगदान

दशैँ आयो कि आम सर्वसाधारण उपभोक्ताहरुले साल्ट ट्रेडिङलाई सम्झने गर्छन् । खासगरी चिनीका लागि उपभोक्ताहरुको साल्ट ट्रेडिङमा लामै लाम देख्न सकिन्छ । हरेक पटकको दशैँ तिहारमा चिनीको माग बढ्ने, कालोबजारी हुने रोगको अन्त्य सरकारले गर्न सकेको छैन । दशैँ, तिहार त हरेक वर्ष आउँछ नै, त्यसको पूर्वतयारीमा सरकार चुकेकोले सर्वसाधारण उपभोक्ता कालोबजारीको मारमा पर्ने गरेका छन् ।

त्यसैले साल्ट ट्रेडिङमा सस्तोमा चिनी पाइन्छ भन्ने मनोविज्ञान आम उपभोक्तामा परेको छ । हुन पनि जस्तोसुकै परिस्थितिमा पनि साल्ट ट्रेडिङले चिनी सुपथ मूल्यमै उपलब्ध गराएको छ । दशैँ, तिहारलाई लक्षित गरेर सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गर्न भ्याट र भन्सार छुट दिने हो भने आम सर्वसाधारण जनता त्यसबाट लाभान्वित हुने थिए ।

दुर्भाग्य, जनताको दुःख सुख बुझ्ने सरकार लोकतन्त्रमा पनि आएन । यसै क्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६१ वर्र्ष पूरा गरी ६२ औँ वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोेरेशनले आम उपभोक्ताको हित र सेवाका लागि अति आवश्यक वस्तु नुन, तेल, दाल, ग्यास, चिनी लगायत दैनिक उपभोग्य वस्तु सर्वसाधारणलाई उपलब्ध गराएको ६ दशक पूरा भएको बताउँदै कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पूरा गर्नमा समेत प्रतिवद्ध हुँदै आएको बताइन् ।

विगतमा आएको ठूलो भूकम्प र कोभिड–१९ को समयमा समेत आम उपभोक्ताको घरदैलोसम्म सेवा पुर्याएको स्मरण गर्दै उनले भनिन्, ‘राष्ट्रलाई संकट, विपत्ति परेको बेलामा पनि जनताको सेवा गर्न पाएकोमा गौरवान्वित भएका छौँ ।’ उनले सरकारले कर्पोरेशनको कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्यवस्तु उत्पादन, तथा सुपथ मूल्यमा बिक्री वितरण गर्न थप प्रोत्साहित गर्नुपर्ने बताउँदे दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउन अनुदानित एवं गैरअनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउँदै आएको समेत बताइन् ।

नुन आपूर्ति व्यवस्थापन मिलाउने उद्देश्यका साथ वि.सं. २०२० भदौ २७ गते साल्ट ट्रेडिङको स्थापना गरेको थियो । तत्कालीन समयमा खासगरी ग्रामीण उपभोक्ताले आफूहरूले नुन पनि नपाएको गुनासोपछि सरकारले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका व्यापारीसमेतको लगानीमा साल्ट ट्रेडिङ स्थापना गरेको हो । कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाका अनुसार विसं २०१९ सालमा तत्कालीन राष्ट्र प्रमुख (राजा महेन्द्र)को पूर्वाञ्चल पहाडी क्षेत्रको भ्रमणका क्रममा त्यहाँका जनताले ‘नुन खान पाइएन सरकार’ भनेर गुनासो गरेपछि राजा काठमाडौैं फर्किएपछि साल्ट ट्रेडिङको स्थापना गरिएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ।

आयो नुनको महत्व

नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या दृष्टिगत गर्दै सरकारले २०३० सालमा नुनमा आयोडिन मिसाउने नीति लियो । सन् १९६५ को सर्वेअनुसार ५५ प्रतिशत जनता आयोडिनको कमीले हुने रोगबाट कुनै न कुनै रूपमा प्रभावित थिए । विश्व स्वाथ्य संगठन (डब्ल्युएचओ) र नेपाल सरकारसहितको सहकार्यमा भएको सर्वेमा चार प्रतिशत मानिस सुस्त मनस्थितिका देखिएका थिए । साल्ट ट्रेडिङका अनुसार नुनमा आयोडिन मिसाएर बिक्रीवितरण थालिएपछि आयोडिन कमीका कारण हुने समस्या न्यूनीकरण हुँदै गयो ।

गर्भावस्थामा आयोडिन कमी हुँदा बच्चा तुहिने, जन्मिए पनि लुलो लँगडो जन्मने, महिलामा बढी रक्तस्राव हुने, महिनावारी अनियमित हुनेजस्ता समस्या समाधान भए । आयोडिन कमीले पशुमा समेत असर पर्ने गर्छ । आयोडिन पर्याप्त भए गाईवस्तुले १५ प्रतिशतभन्दा बढी दूध दिने गर्छन् । सन् २०१६ मा गरिएको अध्ययनले ९४.५ प्रतिशत नागरिकमा यथेष्ट रूपमा आयोडिनयुक्त नुन पुगेको देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको नुनको मापदण्डअनुसारको नुन मुलुकका सबै ठाउँमा पुगेको अध्ययनबाट देखियो ।

डब्लुएचओले नुनमा ५० प्रतिशत पिपिएम आयोडिन भएको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै खाना खानेबेलासम्म कम्तीमा १५ पिपिएम आयोडिनको मात्रा हुनुपर्ने मापदण्ड छ । डब्लुएचओले तोकेको मापदण्ड नेपालले पूरा गरेको छ । साल्ट ट्रेडिङकै कारण जस्तोसुकै संकटमा पनि नेपालमा नुनको हाहाकार हुन पाएको छैन । भारतले २०४६ सालमा गरेको नाकाबन्दीको बेला पनि कम्पनीले छ महिनाका लागि स्टक राखेकाले नुनको मूल्य र आपूर्ति प्रभावित हुन पाएन भने २०७२ सालको नाकाबन्दीमा पनि समस्या आएन ।

को–को पुरस्कृत भए ?

साल्ट ट्रेडिङ स्थापनाको ६१ वर्षको सो अवसरमा यस वर्षको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ मानव कल्याण समाज, पनौतीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी नगद एक लाख र ताम्रपत्र रहेको छ । यस्तै, वार्षिकोत्सवको अवसरमा कर्पोरेशनको श्रीवृत्ति पुरस्कार र छात्रवृत्ति पनि प्रदान गरेको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएकाहरुलाई ‘साल्ट ट्रेडिङ अनुमान शेरचन छात्रबृत्ति’ प्रदान गरिएको छ ।

छात्रवृत्ति पाउने विद्यार्थीले दुई वर्षसम्म पाँच हजारका दरले पाउनेछन् । यस्तै, यस वर्ष कर्पोरेशनको अधिकृतस्तरमा उल्लेखनीय काम गर्र्ने केन्द्रीय कार्यालयमा कार्यरत प्रबन्धक टुलेश्वरप्रसाद साह, प्रदेश कार्यालय, बिराटनगरका प्रमुख सहायक बसन्तकुमार यादव तथा स्तरबिहीनतर्फ केन्द्रीय कार्यालयमा कार्यरत सवारी चालक यामबहादुर मगरलाई ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गरिएको छ ।

त्यस्तै, यस वर्ष कर्पोरेशनको अधिकृतस्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रीय कार्यालयमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, नन्अधिकृतमा डिपो कार्यालय डोल्पामा कार्यरत प्रमुख सहायक प्रकाशबहादुर धामी तथा स्तरबिहिनतर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कार्यालय सहयोगी तृतीय धनबहादुर झाक्री मगरलाई ‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार’ दिइएको छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको राशी सम्मान पत्रसहित नगद रु ४० हजार र हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार राशी नगद ३५ हजार रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १४:३६

लोकप्रिय