सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्षसहित १० जना थुनामा

जिल्ला अदालत बाँकेले राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दीपक घिमिरेको इजलासले आइतबार वडाध्यक्ष वलीसहित १० जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

वडाध्यक्ष वली, विशाल बस्नेत, चूडामणि वली, लोकबहादुर डाँगी र रत्नबहादुर भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरू पाँचै जना पक्राउ परेका छन् । यसैगरी हाल फरार रहेका नारायण डाँगी, नवीन गुरुङ, आगमन प्रताप सिंह, सन्तोष गुप्ता र पूर्णचन्द्र देवकोटाविरुद्ध मुद्दा दायर गरिएको छ ।

मुद्दाको बहस जारी रहँदा आइतबार पनि जिल्ला अदालत बाहिर दुवै पक्षले धर्ना दिएका थिए । राप्तीसोनारी–२ का स्याण्डी भनिने सन्दीप विष्ट र बैजनाथ–७ का सुलभ मल्ललाई एक समूहले गत भदौ १ गते धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । मल्ल र विष्टको शिक्षण अस्पताल नेपालगन्ज, भारतको लखनउ हुँदै हाल नयाँ दिल्लीमा उपचार भइरहेको छ ।

विष्टको दुवै हातमा र मल्लको कोखामा धारिलो हतियार प्रहार भएको छ । दुवैको अवस्था गम्भीर रहेको उनीहरुका आफन्तले जनाएको छन् । विष्ट र मल्लमाथि आक्रमण भएको घटनामा संलग्न रहेको भन्दै वडाध्यक्ष वलीसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १४:४७

लोकप्रिय