सूचनाको शक्ति - The Power Of Information

        

महिनावारी हुँदाको सास्ती

चिसो माघमा गोठका बितेका २१ रात र विभेदको असर

महिनावारी महिलाको प्राकृतिक अधिकार हो पाप होइन । यो कुप्रथा हटाउन सांस्कृतिक र राजनीतिक दुवै पाटोमा समेत जागरण ल्याउन जरुरी छ ।

‘ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।’ निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ । सधैंझैं खुट्टा चढाउने बानीले दिदीसँग सुत्दा गाली नखाएको दिन हुन्थेन । अटेरी थिएँ । फेरि दिदीतिरै खुट्टा फ्याँलें । बालापनको मज्जा नै बेग्लै जति जे गरे पनि माफी पाइन्थ्यो ।

कान्छी छोरी भएकीले दिदीलाई अलि बढी दुःख दिन्थे । अटेर गरी दिदीतिर फेरि खुट्टा चढाउन खोजें । तर खुट्टा होइन, कम्मर पो करक्कै खायो । खासै वास्ता गरिनँ । अर्कोतिर कोल्टे फेर्न खोजें । उल्टै तल्लो पेट चस्कियो । दिदीको हात निदैनिदमा दुखिरहेको पेटमा पुर्याएर कानमा फुसफुसाएँ, ‘दिदी सारै पेट दुख्यो !’ उहाँ हत्तपत्त जुरुक्क उठ्नुभयो ।

मानौं कुनै गहिरो सपना देख्दादेख्दै ब्युँझिनु भएजस्तै झल्याँस्स हुनुभयो । दिदीले मेरो कुर्था माथि सारेर सुरुवालको पछाडितिर आँखा लाउनुभयो । सेतो लुगा भिजेर निथ्रुक्कै थियो नै । ओच्छ्यानसमेत राताम्मै भयो । दिदीले चिच्याउँदै आमा बोलाउनुभयो । के भयो ? किन यति आत्तिएको मैले केही पत्तो पाइनँ ।

सुरुवाल र ओच्छ्यानभरि रगत देखेपछि भने मनमा डर लाग्यो । केको डर त्यो पनि थाहा थिएन । आमा आएपछि दिदीले हस्याङफस्याङ गर्दै एउटा शब्द भन्नुभयो, ‘बहिनी त पन्छी (महिनावारी) छ ।’ पन्छिनु अर्थात् महिनावारी हुनु । महिनावारीका थुप्रै ठाउँ अनुसारका फरक–फरक बोलीचालीका शब्दहरु छन् ।

सुदूरपश्चिममा छाउपडी, पश्चिमतिर पन्छिनु, पाखा लाग्नु, पर सर्नु, छुई हुनु आदि । १३ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा खेप्नुपरेको सास्ती मानसपटलमा अझै गहिरो रुपमा गडेको छ । भुल्न सकिँदैन पनि २१ दिनसम्म गोठमा उकुसमुकुस भएको क्षण । स्कूल जान नपाउँदाको दुखेसो । साथीसंगीसँग घुम्न र खेल्न कुद्न नपाएको पीडा ।

यी सबै घाउ सजिलै हराउँदैनन् । त्यो दिन सम्झना छ । बिहानीपख ओच्छ्यानमा पहिलोपटक महिनावारी भएकी थिएँ । दिदीले आफ्नो कुर्थाको सल ल्याएर आमालाई दिनुभयो । आमाले पूरै बेहुलीलाई घुम्टोले छोपे जस्तै गरी ढपक्कै लुकाएर घर बाहिर निकाल्नुभयो । कहाँ राख्ने त यसलाई ? दिदी र आमाले सल्लाह गरेर छिमेकीको गोठमाथि थारोमा राख्ने टुंगो लाउनुभयो ।

उहाँहरुको मप्रतिको अनौठो व्यवहार देखेर म रुन थालेंछु । अत्तालिएर घुम्टोभित्रैबाट सुकसुकाउँदै आमालाई सोधें, ‘मलाई के भएको हो र ? कहाँ लैजाने ? म घरमै बस्न किन नपाउने ?’ यस्ता थुप्रै प्रश्नहरु अनवरत सोधिरहें । उत्तर समग्रमा एउटै आयो, ‘अब तँ ठूली भइस् । यत्ति बुझ् ।’

गोठमा २१ रात

माघको चिसो याम । कुहिरोले मौसम गुम्सुम थियो । उसैगरी म सलभित्र खुम्चिएकी थिएँ । जतिसक्दो कोठामा लुकाउने हतार थियो । घामको झुल्का नउदाउँदै नजरबन्दमा राख्नुपर्ने थियो । दिदी र आमाले छिमेकीको गोठमा पुर्याउनुभयो । रातो माटोले लिपेको गोठको माथिल्ल्लो तलामा ओच्छ्यान लगाएर तयार पार्नुभएको रहेछ आमाले ।

‘थुपुक्क यहीँ बस्नु’, उहाँले निर्देशन दिँदै के गर्न हुने के गर्न नहुने नियम बुझाउन थाल्नुभयो, ‘बाहिर हेर्दै नहेर्नु, भाइले बोलायो भने नबोल्नु । अनि सकेसम्म कान थुनेर बस्नु ।’ फुर्के जामा लगाएर खेतका कान्ला, खोला नाला कुद्ने ममा अचनाक न सुन्नु, नदेख्नु, नबोल्नु जस्ता ‘न’ नियम आइपर्यो ।

चरा जस्तै उड्ने बालापनमा यी सबै न नियम लाग्दा सजिलो हुने कुरै थिएन, अझै बढी पीडा स्कूल जान नपाउनु थियो । कक्षा ५ मा पढ्थें त्यो बेला । स्कुलमा त्यो दिन मेरो सेरोफेरो विषय पढाउने टेकराज सरले सही उत्तर दिने विद्यार्थीलाई पुरस्कार दिने वाचा गर्नुभएको थियो । पढेकी भए पनि उत्तर दिने अवसर महिनावारी भएकै कारण गुमाएकोमा मनमनै दुःखी थिएँ ।

मेरो पढाइ निरन्तर २१ दिनसम्म गुमिरह्यो । भारतबाट एक वर्षपछि बुबा घर आउनुभएको थियो । त्यसै दिन भैरवस्थान देवताको पूजा गरेर घरमा उत्सव बनाइएको थियो । चामलको पीठोले बनाइने भैरवस्थान मन्दिरमा चढाएको रोटी मलाई निकै मन पर्थ्यो । आमाले अरू बेला सधैं अरू दिदी भाइलाई भन्दा अलि बढी खान दिनुहुन्थ्यो ।

महिनावारी गोठमा बसेको पाँच दिन कष्टकर बिताउँदै थिएँ । भैरवस्थान मन्दिरमा पूजा हुँदैछ र बुबा आउँदै हुनुहन्छ भन्ने हर्षले मनमनै गद्गद थिएँ । आमाले खाना पुर्याउन आउँदा सुनाउनुहुन्थ्यो, ‘बुबा साता दिन मात्रै बस्ने रे । अनि तैंले भैरवस्थानको प्रसाद खानुहुँदैन पाप लाग्छ, म अचम्मै परें ।’

सधैं भैरवस्थानको प्रसाद मायाले अलि बढी खुवाउने मेरी आमाले आज खान नदिने यति कठोर हृदय कसरी बन्न सक्नुभयो होला ? बुबाले जहिले गीत गाउँदै नाच्न सिकाउनुहुन्थ्यो । आज देख्दैनदेखि कसरी बस्न सक्नुभयो ? पटकपटक शौचालय जाँदा कमजोरीले बेहोस भएर ढल्दा आमाले बोकेर घर गोठमै ल्याउनुहुन्थ्यो ।

तर मायाले घरमा पुर्याउन कुन संस्कारले रोक्यो होला ? हरेक दिन झगडा नगरी चित्त नबुझाउने मेरो भाइलाई के कुराले मौन बनायो होला ? घामको झुल्कासँगै उदाउने मेरो बिहानी किन अँध्यारोमा गुमसुम छ ? बाल मनोविज्ञानमा यस्ता प्रश्नहरु आइरहे तर उत्तर दिने कोही थिएनन् ।

२२ दिनपछि स्कूल पुग्दा

झिसमिसे बिहानै कठ्याङ्ग्रिँदो जाडोमा थरथर काँप्दै कुलामा नुहाउन पुगें । कमजोर शरीरले रिंगटा लागिरहेको हुन्थ्यो । बिहान ५ बजे कसैले नदेख्दै नुहाउनुपर्ने थियो । म आतुर थिएँ, २१ दिनपछि घामको उज्यालो देख्न । आतुर थिएँ, आकाशे रङको सर्ट र नीलो जामा लगाएर स्कूल जान । भाइसँग लडीबुडी गरी खेल्न, साथीभाइसँग गफिन ।

गोठबासदेखि उन्मुक्त भएर सुर्के झोला बोकेर खुसी हुँदै स्कूल पुगें । त्यो पारिलो घामसँग रमाउँदै, फुर्किंदै स्कूलको ढोकानिर टेकें । धेरै समयपछि आएर होला विद्यालय नौलो लाग्यो । त्यति मात्रै होइन, साथीभाइले गर्ने व्यवहार पनि फरक पाएँ । कोही मलाई हेर्दै कानेखुसी गर्थे त कोही तलदेखि माथिसम्मै नियाल्थे ।

मानौं म २१ दिनमा अर्कै भएकी छु । कुनै पनि किशोरी लामो समयको अन्तरालपछि स्कूल आइन भने उसलाई महिनावारी भएकै संज्ञा दिइन्थ्यो र लाज, घृणा र जिस्क्याउने पात्रका रुपमा व्यवहार गरिन्थ्यो । केटाहरुले त खुलेयाम भन्ने गर्थे, ‘यो केटी त नछुने भइछ ।’ यस्तो अवस्थामा केटीहरुमा मानसिक रुपमा हीनताबोध हुने गर्थ्यो ।

प्रतिकार गर्ने आँट थिएन । लाजले रातोपिरो हुनुबाहेक अरू उपाय केही हुँदैन थियो । महिनावारी भएकै कारण विद्यालयमा पढाइको मर्का खेप्नु त छँदैछ, स्कूलमा गरिने बुलिङ (जिस्क्याउने) प्रवृत्तिले कतिपय छात्रा विद्यालय नै छोड्ने गर्थे । २२ दिनपछि खुसी हुँदै स्कूल पुगेकी म पछिल्लो बेन्चको कुनामा रुँदै बसें । झन्डै ३० वर्षअघि मैले महिनावारी हुँदा खेप्नु परेको पीडा मेरा बहिनीहरुलाई भोग्नुपरेन ।

महिनावारीमा विभेद हुँदा पर्ने असर

महिनावारीले किशोरीमा पार्ने मनोवैज्ञानिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतमा पर्ने असर असीमित हुन्छ । मर्यादित महिनावारीको संस्कार बसाल्न सके छोरीको व्यक्तित्व विकासमा सघाउँछ । विद्यालयमा मर्यादित महिनावारीको शिक्षा नपुगेसम्म धेरै छात्राको पठनपाठनमा प्रत्यक्ष प्रभाव पर्ने मर्यादित महिनावारी अभियान संस्था राधा पौडेल फाउन्डेसनको अध्ययनको निष्कर्ष छ ।

सरकारले छाउपडीविरुद्धको ‘छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ जारी गरेको छ । फाउन्डेसनले काठमाडौं, जुम्ला र सर्लाही गरी १८ देखि २५ वर्ष उमेर समूहका ४७१ जनामा गरेको एक अध्ययनमा महिनावारीका कारण छात्रा विभेद, यौन हिंसामा परेको तथ्यांक छ ।

‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ विषयक आधारभूत सर्वेक्षण प्रतिवेदनमा महिनावारी हुँदा ५२ प्रतिशत छात्राको पठनपाठन प्रभावित हुने देखाएको हो । त्यसैगरी १३ प्रतिशत छात्राले विद्यालयमा विभेद भोग्नुपरेको बताएका छन् भने नौ प्रतिशत छात्राहरू महिनावारीकै कारण यौन हिंसामा परेको जनाइएको छ ।

संविधानसभा सदस्य डा बिन्दा पाण्डेले छाउपडी कुप्रथासँग सम्बन्धित बाजुरा–बूढीनन्दा, हिमाली र स्वामीकार्तिक खापर गरी तीन पालिकाका १०० जनामा गरिएको सर्वेक्षणमा छाउगोठमा बस्ने ५२ प्रतिशत, छाउघरमा बस्ने २३ प्रतिशत, भुइँतलामा बस्ने १८ प्रतिशत र आफ्नै कोठामा सात प्रतिशत बस्ने गरेको तथ्यांक छ । छाउगोठमा बस्दा एक्लै सुत्ने महिलाको सङ्ख्या ५७ प्रतिशत रहेको छ ।

सर्वेक्षणमा महिनावारीको बेला दालभात, रोटी खाने ६१ प्रतिशत छन् भने फलफूल खान पाउने मात्रै १० प्रतिशत छन् । छाउगोठमा बसेकै कारण ५२ प्रतिशतले सामाजिक र सांस्कृतिक कार्यक्रममा असंलग्न हुन नदिने तथ्यांक छ । ‘महिनावारी महिलाको प्राकृतिक अधिकार हो पाप होइन,’ डा पाण्डे भन्छिन्, ‘यो कुप्रथा हटाउन सांस्कृतिक र राजनीतिक दुवै पाटोमा समेत जागरण ल्याउन जरुरी छ ।’

स्रोत : रासस
प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ०८:१७

लोकप्रिय