सूचनाको शक्ति - The Power Of Information

        

१८ लाख यात्रु बोकेको विमानलाई ‘वाटर स्यालुट’सहित बिदाइ

बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआइएन) विमानको बिदाइ गरेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरका कर्मचारीले ‘वाटर स्यालुट’ सहित विमानको बिदाइ गरेका हुन् ।

बुद्ध एयरका अनुसार उक्त विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको थयो । विमानले अन्तिम फ्लाइट पनि माउण्टेन फ्लाइट नै रह्यो । बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिने जनाएको छ । यस विमानलाई ७० हजार उडान साइकलपछि बिदाइ गरिएको हो ।

नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो । बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले सन् २००८ सेप्टेम्बरमा विमन नेपालमा ल्याएको बताए । उनले सन् १९९५ मा बनेको विमान नेपालमा ल्याउनुभन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाइएको सुनाए । उनका अनुसार विमान दुई किसिमले बिदाइ गरिन्छ ।

पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरुले आर्थिक रुपमा सञ्चालन गर्न नसक्दा बिदाइ हुने गर्छ । बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआइएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १६:३२

लोकप्रिय