सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्वको मुखमै महँगियो भान्छा, नियमनकारी निकाय बेखबर

महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यवस्तु, सागसब्जी र उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको छ । चाडपर्वको मौका छोपी व्यापारीहरूले दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढाएका हुन् । बजारमा चामल, दाल, चिनी, तेल, दलहन, तरकारी, माछा, मासु र अण्डा लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो । खासगरी थोक व्यापारीले नै उपभोग्य वस्तुको मूल्य बढाएर पठाएको खुद्रा व्यापारीहरू बताउँछन् ।

खाद्य वस्तुहरूको थोक मूल्य बढेर आएसँगै खुद्रा व्यापारीहरूले पनि आफूखुसी मूल्य बढाएका हुन् । अघिल्लो वर्षको यही समयमा ९० रुपैयाँ प्रतिकिलो पर्ने चिनीको मूल्य यतिखेर १५० रुपैयाँसम्म पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षअघि २०८० भदौ २५ गते चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो । कतिपय खुद्रा व्यापारीले १३० रुपैयाँ देखि १५० रुपैयाँ प्रतिकिलोका दरले मूल्य असुलिरहेको उपभोक्ताहरूको गुनासो छ ।

‘अघिल्लो वर्षको यही समयमा चिनीको मूल्य ९० देखि ९५ रुपैयाँ प्रतिकिलो थियो । यसपालि मूल्य बढेर १३० रुपैयाँसम्म पुगेको छ,’ संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । दाल, चामल र तेल लगायत अधिकांश खाद्य वस्तुमा अघिल्लो वर्षको तुलनामा १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धि गरिएको बज्राचार्यले बताए । उनका अनुसार प्रतिबोरा चामल (२५ र ३० किलो तौल) कै मूल्य १०० देखि १५० रुपैयाँसम्म बढाइएको छ ।

यसैगरी दाल र तेलजन्य अन्य खाद्य वस्तुको मूल्य पनि केही न केही बढेर आएको उनले बताए । थोक व्यापारीले मूल्यको बिक्रीदर बढाएर पठाएकाले खुद्रा व्यापारमा आइपुग्दा खाद्यवस्तुको मूल्य बढेको बज्राचार्यको भनाइ छ । ‘यो वर्ष अधिकांश खाद्य वस्तुको मूल्य गत वर्षको तुलनामा बढेको देखिन्छ,’ उनले भने, ‘खुद्रा बजारसम्म पुग्दा चिनी प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ, अन्य खाद्यवस्तुमा १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।’

केही दिनयता लगातारको वर्षाका कारण मुलुकभर सडकखण्डहरू अवरुद्ध हुँदा खाद्यवस्तुसँगै तरकारी र फलफूलजन्य वस्तुको मूल्य पनि बढेको छ । महत्वपूर्ण राजमार्गहरूमै आवागमन रोकिँदा काठमाडौंसम्म ल्याउन ढुवानी गरिएको तरकारी र फलफूलजन्य वस्तु पनि बीचमा कुहिने तथा सड्ने गरेको किसानहरूको गुनासो छ । काठमाडौं उपत्यकाका सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा पनि तरकारी तथा फलफूलजन्य वस्तुको मूल्य बढेर आएको छ ।

अघिल्ला वर्षको तुलनामा यसपालि पानी बढी परेकाले पनि कतिपय तरकारी तथा फलफूलको मूल्य अचाक्ली बढेको व्यापारीहरूको तर्क छ । चाडपर्वमा सबैभन्दा बढी खपत हुने प्याज र लसुनको मूल्य समेत बढेको छ । अघिल्लो वर्षको तुलनामा अहिले प्याजको मूल्य दोब्बरले बढेको हो । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार अघिल्लो वर्ष यसै समयमा भारतीय सुकेको प्याजको मूल्य औषत ७० देखि ८० रुपैयाँसम्म थियो ।

तर, अहिले प्याजको थोक मूल्य प्रतिकिलो १२५ रुपैयाँ र खुद्रा मूल्य पनि बढेर १५० देखि १६० रुपैयाँसम्म पुगेको छ । अघिल्लो वर्षको तुलनामा यसपालि भारतीय सुकेको प्याजको मूल्य ७३ प्रतिशत बढेको देखिन्छ । भारतीय रातो आलुको मूल्य पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । २०८० भदौ २४ मा प्रतिकिलो औषत ३५ रुपैयाँ थोक मूल्यमा पाइने रातो आलुको मूल्य अहिले ५७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, अघिल्लो वर्ष ४५ रुपैयाँ प्रतिकिलोमा पाइने घिरौँलाको मूल्य बढेर ६५ देखि ७० रुपैयाँ पुगेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ । त्यस्तै, भारतीय गोलभेँडा ठूलोको मूल्य गत वर्षभन्दा यसपालि झनै बढेको छ । अघिल्लो वर्ष यसै समयमा ४५ रुपैयाँ प्रतिकिलो औषत रहेको गोलभेँडाको मूल्य अहिले ६५ रुपैयाँ पुगेको छ । अदुवा, तने बोडी, स्थानीय काउली, लौका, रायो साग, च्याउ, सेलरी, पार्सले, कागती, अनार, खुर्सानी र हरियो धनियाँ लगायतको मूल्य पनि केही बढेको छ ।

ब्रोइलर कुखुराको मासु सस्तिँदा खसीबोका झनै महँगो

अण्डा र ब्रोइलर कुखुराको मासुको मूल्य भने त्यत्ति बढेको देखिँदैन । केही हप्ताअघि अण्डा ठूलो साइजको मूल्य प्रतिक्रेट ५३० रुपैयाँसम्म पुगेको थियो । अहिले अण्डाको थोक मूल्य ४३० रुपैयाँमा झरिसकेको छ ।

अण्डा र कुखुराको मासुको मूल्य यथावत नै रहेको नेपाल कुखुरा बजार व्यवस्थापक संघका अध्यक्ष हरिकृष्ण लोहनीले खबरहबलाई जानकारी दिए । उनका अनुसार खसी तथा बोकाको मासु प्रतिकिलो १३०० देखि १३५० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, एक महिनाअघि प्रतिकिलो १६०० रुपैयाँमा बिक्री भएको काजुको मूल्य अहिले बढेर २१०० रुपैयाँ पुगेको व्यापारीहरूले बताएका छन् ।

बेखबरजस्तै छ नियमनकारी निकाय

चाडपर्व नजिँकिँदै जाँदा बजारमा उपभोग्य वस्तुको मूल्य बढे पनि सरकारी नियमनकारी निकाय भने बेखबर जस्तै छ । बजारमा खाद्य वस्तुको गुणस्तर र मूल्यवृद्धि भइरहँदा त्यसको प्रभावकारी अनुगमन भने हुन नसकेको हो । नियमनकारी निकायको प्रभावकारी अनुगमन नहुँदा बिचौलिया व्यापारीले चाडपर्वका मौका छोपी उपभोक्तामाथि ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिना बताउँछन् ।

‘चाडपर्वको मौका छोपी व्यापारीले मूल्य बढाउने परम्परा यसपालि पनि देखिएको छ,’ उनले भने, ‘खाद्यवस्तुदेखि सबै वस्तुको मूल्य बढेको छ । उपभोक्ताहरू मर्कामा परेका छन् ।’ चाडपर्वका बेला विगतमा मौज्दात गरेका, म्याद गुज्रेका र कम गुणस्तकार खाद्य वस्तु समेत बजारमा भेटिने गरेको तिमल्सिनाले बताए ।

दसैं र तिहारलगायत ठूला चाडबाडका बेला पुराना र स्टक सामानहरू पनि व्यापारीहरूले बाहिर निकाल्ने गर्दा गुणस्तर र मूल्यमा समेत प्रश्न उठ्ने गरेको छ । कर्मकाण्डी अनुगमनले बजार नसुध्रिने तिमल्सिना बताउँछन् । उनी भन्छन्, ‘चाडपर्वमा झारा टार्ने किसिमको अनुमगले बजारको मूल्य र गुणस्तर नियमन हुन सक्दैन् । दैनिक रूपमा गरिने अनुगमन एकीकृत र व्यवस्थित हुनुपर्छ ।’

विभागको दाबी, ‘अनुगमन भइरहेको छ’

चाडपर्व नजिकिँदै जाँदा खाद्यवस्तुको मूल्य र गुणस्तरलाई विशेष प्राथमिकतामा राख्दै दैनिक बजार अनुगमन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । ‘चाडपर्वको मौका छोपी व्यापारीले मूल्य बढाउन सक्ने र वस्तुको गुणस्तरमा समेत प्रश्न उठ्ने गर्छ,’ विभागका महानिर्देशक राजन पौडेलले भने ।

उनका अनुसार त्यसका लागि विभागले अन्य निकायसँग मिलेर संयुक्त अनुगमन गरिरहेको छ । चाडपर्वका बेला मूल्य र गुणस्तरका सम्बन्धमा स्वयम् उपभोक्ता पनि सचेत हुन जरुरी रहेको उनको भनाइ छ । उनले कुनै गुणस्तरहीन र मूल्यवृद्धि गरेको थाहा पाए विभागमा जानकारी गराएर सहयोग गर्न समेत उपभोक्तालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १६:१९

लोकप्रिय