सूचनाको शक्ति - The Power Of Information

        

श्री एयरलाइन्समा एउटा टिकट खरिद गर्दा अर्को एउटा सित्तैमा !

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौं–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ । एयरलाइन्सले आगामी असोज ४ गतेसम्म काठमाडौं–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो ।

एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिए । ‘पोखरा–काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्दका लागि यो अफर ल्याएका हौं, यसबाट थोरै भए पनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौं ।’

आसोज ४ गतेसम्म टिकट खरिद गर्नेले उक्त अफर पाउनेछन् । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्नेछ । श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ १० विमान र आठ रोटर (हेलिकप्टर) छन् । कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास–८–क्यू–४०० विमान छन् । आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ । कम्पनीले काठमाडौँबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १०:१०

लोकप्रिय