सूचनाको शक्ति - The Power Of Information

        

आठ महिनामा आए सात लाखभन्दा बढी पर्यटक

सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका अनुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ ।

सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए । उनले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे ।

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार ३३२, चीनबाट छ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार ३०४, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार ३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्तमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।

के छ पर्यटक बढाउने सरकारी योजना ?

कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।

पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १२:२४

लोकप्रिय