सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा विद्युत चुहावट सबैभन्दा कम

लुम्बिनी प्रदेशमा विद्युत चुहावट नियन्त्रणमा सबैभन्दा अगाडी विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र परेको छ । प्रदेशमा रहेका नेपाल विद्युत प्राधिकरण अन्तर्गतका २० वटा वितरण केन्द्रहरूमध्ये गत आर्थिक वर्ष २०८०–०८१ मा कोहलपुर वितरण केन्द्रको विद्युत चुहावट सबैभन्दा कम देखिएको हो ।

नेपाल विद्युत प्राधिकरणको नेपालगन्जस्थित डिभिजन कार्यालयका अनुसार सबैभन्दा कम विद्युत् चुहावट नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्तर्गत भएको पाइएको हो । कोहलपुर वितरण केन्द्रमा गत आर्थिक वर्षमा विद्युत् चुहावट ३.२७ प्रतिशत मात्र रहेको पाइएको छ भने सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रमा १९.५५ प्रतिशत भएको देखिएको छ ।

गत केही वर्षयता नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रण र विद्युत बक्यौता असुलिलाई विशेष प्राथमिकता दिएको नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले जनाएको छ । विद्युत महसुल जम्मा नगर्ने ग्राहकहरुको लाइन काट्ने अभियान थालिएपछि धेरैले महसुल जम्मा गरेको सो कार्यालयका प्रमुख माधव महतले बताए ।

औद्योगिक ग्राहकहरू बढी भएको ठाउँमा विद्युत खपत धेरै हुने हुँदा चुहावट कम हुने गरेको जनाउँदै कोहलपुर वितरण केन्द्रका प्रमुख महतले कोहलपुर क्षेत्रमा ठुला ठुला उद्योगहरू रहेकोले चुहावट कम भएको बताए । लुम्बिनी प्रदेशका तराई क्षेत्रको दक्षिणी भेगमा औद्योगिक ग्राहक कम रहेका कारण प्राविधिक चुहावट उच्च रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार तौलिहवा वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत चुहावट १९.५५ प्रतिशत, त्यसपछि क्रमशः राजापुर वितरण केन्द्रमा १४.७२ प्रतिशत, गुलरियामा १३.८५ प्रतिशत, प्युठानमा १३.८९ प्रतिशत, बर्दघाटमा १३.७४ प्रतिशत, गुल्मीमा १३.४२ प्रतिशत, नेपालगन्जमा १३.०९ प्रतिशत, तुलसीपुरमा १२.८६ प्रतिशत र रोल्पामा ११.९५ प्रतिशत चुहावट भएको छ ।

सोही प्रकारले बुटवलमा १०.४५ प्रतिशत, पाल्पामा १०.०९ प्रतिशत, कृष्णनगरमा ६.४२ प्रतिशत, भैरहवामा ६.०६ प्रतिशत, अर्घाखाँचीमा ५.४७ प्रतिशत, घोराहीमा ४.८५ प्रतिशत, लमहीमा ४.३९ प्रतिशत, अमुवामा ४.०८ प्रतिशत, परासीमा ३.५८ प्रतिशत र सबैभन्दा कम कोहलपुर वितरण केन्द्रमा ३.२७ प्रतिशत चुहावट भएको विद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १३:३६

लोकप्रिय