सूचनाको शक्ति - The Power Of Information

        

भू-स्वर्गको अनुभूति दिलाउने ‘त्रिवेणी पाटन क्षेत्र’

कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-९, बडिमालिका नजिकै रहेको त्रिवेणी पाटन क्षेत्र । तस्वीर : मीमबहादुर रावल । रासस

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने त्रिवेणी पाटनले पर्यटकको मन लोभ्याउने गरेको छ । त्रिवेणीको काखमा रहेका दर्जनौं सुन्दर पाटनले पर्यटकलाई मोहनी लगाउँदै आएको छ । त्रिवेणी आउने पर्यटकले धर्ती भूस्वर्गको अनुभुति गर्छन् । पछिल्लो समय त्रिवेणी पश्चिम नेपालकै सुन्दर पर्यटकीयस्थल बनेको छ ।

शान्नि त्रिवेणी गाउँपालिका मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर त्रिवेणी पाटनमा पर्यटकको चहलपहलले कालिकोटमा पर्यटन व्यवसायमा केही आशा पलाएको छ । प्रायः सिजनअनुसार त्रिवेणी–जिउली, बडिमालिका पाटनमा पर्यटकको ओहोरदोहोर हुने गरेको पाइन्छ । यी पाटन समुन्द्री सतहदेखि करिब ४ हजार मिटरको उचाइमा छन् ।

यस क्षेत्रमा बाह्रै महिना घुम्न नसिकने भए पनि पर्यटन प्रवद्र्धनका लागि सरकारले सडक सञ्जाल पुर्याउन नसक्दा एक सिजनमा मात्र घुम्न सकिन्छ । यो अहिले त्रिवेणी धामका रूपमा परिणत भएको छ । नेपालभरबाट हजारौं भक्तजन जिउली–त्रिवेणी पाटन भएर बडिमालिकाको दर्शन गर्न पुग्छन् । कालिकोट र बाजुराको सीमा क्षेत्रमा रहेको बडिमालिका मन्दिरको दर्शन गर्न एक दिन एक रात त्रिवेणी धाममा बास बसेर भक्तजन जाने गरेका छन् ।

कर्णालीका सबै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, बैतडी र अछामको संगमस्थलका रूपमा त्रिवेणीधामलाई लिन सकिन्छ । त्रिवेणी क्षेत्रमा पुग्न तीन दिनको लामो पैदल यात्रा गर्नुपर्छ । गोरेटो बाटो गाह्रो छ । तर, पुगेपछि भने पर्यटकका मन रोमाञ्चित हुन्छन् । प्रकृतिका अनेक छटाले धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणी अत्यन्तै दर्शनीय छ ।

त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि मानिसले मनोहक प्रकृतिको विपुल छटाहरूले घेरिएको पाउँछन् । त्रिवेणीको वरिपरि मिलाएर उमारिएका जस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई पृथ्वी तलको स्वर्गजस्तै कञ्चन बनाएको छ । त्रिवेणीले कर्णालीको धार्मिक सांस्कृतिक आयाम निकै थपेको छ । त्रिवेणीमा विभिन्न प्रजातिका वनस्पति रहेका छन् ।

करिब १४० भन्दा बढी जातका फूल, सयौं जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना घोडाभेडा चराउन उपयुक्त स्थान, २२ वटा घाँसे मैदान, तीनवटा नदीको संगम रहेको पवित्र धाम, मुलुकका दर्जनौं जिल्लालाई नियाल्न सकिने अग्लाअग्ला हिमशृंखलाले यसको थप महत्व दर्साएको छ । अपार पर्यटकीय सम्भावनासहितको त्रिवेणी पाटनको विकासमा सरकारको ध्यान भने पटक्कै पुगेको छैन । सिजनअनुसार मात्र पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको राम्रो प्रबन्ध छैन ।

संरक्षित क्षेत्र बनाइने

त्रिवेणीलाई संरक्षित क्षेत्र बनाउने तयारी रहेको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसीले बताए । त्रिवेणी पाटन मात्र नभई त्रिवेणीधाम रहेकाले यसको महत्व थप बढेको उनले बताए । उनले भने, ‘यस क्षेत्रलाई आगामी दिनमा संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने र थप पर्यटकीय सम्भावनाका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।’ यस क्षेत्रमा कस्तुरी, बाघ, घोरलजस्ता वन्यजन्तु पाइन्छन् ।

कालिकोटको सदरमुकाम मान्म हुँदै सान्नीको मेहलमुडी र मुम्रा भएर जान सकिन्छ । विमान वा बसबाट बाजुरालगायतका अन्य जिल्ला भएर पनि जान सकिन्छ । मान्मबाट बिहानै पैदल हिँड्दा एक दिनमा मुम्राको मालिक वन पुगिन्छ । त्यस्तै, दोस्रो दिनमा त्रिवेणी पुगिन्छ । त्रिवेणीदेखि बिहानीको शीतलमा ठाडो उकालो बाटो भएर दिउँसोतिर बडिमालिका पुगिन्छ ।

बडिमालिकामा जनैपूर्णिमाका अघिल्लो दिन धुमधामसँग धार्मिक मेला लाग्ने भएकाले त्रिवेणी भएर भक्तालु जाने गर्छन् । जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका त्रिवेणी आउने गरेका पुजारी कृष्णप्रसाद धमालाले बताए । त्रिवेणीमा नुहाएर बढिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ । रोगव्याध नाश हुने र पदोन्नति हुने विश्वास रहिआएको छ ।

शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ । त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरवधुको कामना गर्दै यहाँ पूजा गरिन्छ । त्रिवेणीमा दुइटा खोला छन्, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ । त्रिवेणीमा अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने पनि धार्मिक विश्वास छ ।

क्षेत्रकै समृद्धि बन्न सक्छ त्रिवेणी-जिउली

पर्यटनका दृष्टिले त्रिवेणी धामको जिउली विश्वकै एक आकर्षक गन्तव्य हो । यहाँ पर्यटक भित्याउन सक्ने हो भने त्रिवेणीको सिमाना जोडिएका कालिकोट सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानीय कर्ण केसी बताउँछन् । उनी भन्छन्, ‘कर्णालीको विकास गर्नु छ भने पहिले त्रिवेणीको विकास गर्न जरुरी छ ।’

त्रिवेणी क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकीयसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके त्रिवेणीमा पर्यटकको ओइरो लाग्ने विश्वास केसीको छ । उनले भने, ‘त्रवेणी पर्यटन विकास गर्न सके अर्बौं रुपैयाँको कारोबार हुन सक्छ तर दुर्भाग्य यो क्षेत्रमा आउने पर्यटकलाई अहिलेसम्म खाने बस्नेसम्मको न्यूनतम पूर्वाधारसमेत बन्न सकेको छैन ।’

पर्यटनबाहेक बडिमालिका र त्रिवेणीको जडीबुटी र वनस्पति पनि यहाँका चार जिल्लाको अर्को आयस्रोत बन्दै आएको छ । यहाँ औषधीय मूल्य भएका सञ्जीवनी, गधाल्लो, बाहजडी बुटीदेखि अति महत्वपूर्ण त्रिवेणीमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको स्थानीय अनुसन्धानकर्ता कालिबहादुर बम बताउँछन् । यो क्षेत्रमा जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिंगो कर्णाली र सुदूरपश्चिम धान्न सक्ने गरी आर्थिक लाभ लिन सकिने उनको दाबी छ ।

बडिमालिका त्रिवेणीजस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकीय विकासका लागि २०६४ सालमा बडिमालिका पर्यटन विकास समितिको गठन भएको थियो । त्यसयता झन्डै १० करोड रुपैयाँ विकास समितिमा आइसकेको छ । तर, अहिलेसम्म पर्यटकलाई खाने बस्नेसम्मको व्यवस्था गरिएको छैन ।

बिचपानी र पाटनमा दुईवटा धर्मशाला बनाइएका भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न नमानेको स्थानीयको भनाइ छ । यस वर्ष भने प्रदेश सरकाले एक पक्की भवन बनाएको छ । पहिले प्रदेश सरकारले बनाएका तीनवटा धर्मशाला त्यसबेला नै भत्किएका थिए । एक सिजनमा बास बस्न राज्यले करोडांै रकम खर्चे पनि अहिलेसम्म व्यवस्थित बास बस्ने अवस्था छैन ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १४:०४

लोकप्रिय