सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनलाई ५१ डलर चन्दा दिएपछि १२ वर्ष जेल

रुसले एकजना बेली डान्सरलाई युक्रेनलाई ५१ डलर चन्दा दिएको र देशद्रोहको अभियोगमा १२ वर्षको जेल सजाय दिएको छ । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको हो ।

युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई गत फेबु्रअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ ।

पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जल्स गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन् । खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभले बताए ।

सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीहरूलाई अपराधीकरण गर्ने कानून पारित गरेको छ । त्यसयता रुसले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न निशाना बनाएको भन्दै चिन्ता बढेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ०९:०४

लोकप्रिय