सूचनाको शक्ति - The Power Of Information

        

तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान अवरोध हट्यो

कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ । कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबीचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने व्यवस्था थियो ।

अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाउने भएका छन् । अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरहेका छन् ।

‘पर्यटकको आवागमनमा कुनै अवरोध नभएपछि नेपाल भित्रिने पर्यटकको संख्यामा समेत बढोत्तरी हुने अपेक्षा लिएका छौँ,’ विभागका सूचना अधिकारी दाहालले भने । अध्यागमन विभागले चीनतर्फबाट समेत पर्यटक आवागमन सहज बनाउन मुस्ताङको कोरला र ताप्लेजुङको टिपताला नाकामा अध्यागमन कार्यालयको स्थापना गर्न लागेको पनि सूचना अधिकारी दाहालले जानकारी दिए ।

हाल सञ्चालनमा रहेका तातोपानी, तिमुरबोटे र हिल्सा नाकाबाट पर्यटन आवागमनमा कुनै समस्या नरहेको सूचना अधिकारी दाहालले प्रस्ट पारे । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले तेस्रो देशका पर्यटकले नेपालका सबै नाकाबाट सहजरूपमा आवतजावत गर्न पाउने भएपछि भारतीय ट्राभल एजेन्सीले नेपाल पठाउने पर्यटकको संख्यामा बढोत्तरी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ११:४९

लोकप्रिय