बलिउडका पुराना फिल्ममा बिहेको दृश्य अनिवार्य रुपमा हुने गर्थ्यो । बाजागाजासहित जन्ती आउँथे । जब दुलहादुलही सात फेरा लिन थाल्थे, टुटेको मन भएको एउटा दुःखी पात्रको प्रवेश हुन्थ्यो । त्यो पात्र आएर बोल्ने डाइलग हुन्थ्यो, नाइ, यो बिहे हुन सक्दैन । त्यसपछि फिल्म आधुनिक भए ।
निर्देशकहरुले बुझे, विवाह, जन्ती, ब्याण्ड बाजा बिना पनि चलचित्र बनाउन सकिन्छ । कतिपयले सोचे, वास्तविक र ठूलो कहानी त बिहेपछि सुरु हुन्छ । त्यसमा पनि फिल्म बनाउनुपर्छ । आधा वर्ष बितिसकेको छ । यो ६ महिनामा क्रिकेट वर्ल्डकप सकियो, बेलायत र फ्रान्समा चुनाव सकियो । तर, मुकेश अम्बानीका छोरा अनन्तको बिहे अझै चलिरहेको छ ।
बिहेमा तुजुक देखाउने धनीहरूको पुरानै चलन हो । पहिले मेहेन्दी, त्यसपछि जन्ती अनि बिहेको भोज हुन्थ्यो । जो सहरको धनी हुन्थ्यो उसले सारा गाउँलेलाई बोलाउँथ्यो । गाउँको मुखिया, सांसद जो भए पनि आउँथे, कुनै कलाकार–गायकलाई पैसा दिएर बोलाइन्थ्यो र उनीहरुसँग फोटो खिचाइन्थ्यो । त्यसपछि खानाको लाइन लगायो, सबैलाई भरपेट खुवायो अनि टेन्ट–कुर्सी समेटेपछि सबै आ–आफ्नो घरतिर लाग्थे । बिहे सकिन्थ्यो ।
अम्बानी ग्लोबल सेठ भएकाले उनको सगुन पनि लामो हुने नै भयो । सगुन दिने सूचीमा मार्क जुकरबर्ग र बिल गेट्स पनि समावेश भए । बलिउडका तीन खानले भाँगडा प्रस्तुत गरे । जस्टिन बिबरले स्यान्डो र हाफ प्यान्ट लगाएर डान्स गरे । रिहाना र दिलजीत दोसाँझले पनि डान्स गरे । सँगै अरुलाई पनि उफारे ।
अम्बानी आफैं, श्रीमती निता र छोराछोरी पनि गानाबजानाको भिडियो देखाइरहन्छन् । मानौं हामीलाई बताउँदैछन्, हामी सेठका पनि सेठ बनिसकेका छौं तर भित्रभित्रै हामी पनि तपाईंहरुजस्तै छौं । हाम्रो मन पनि शाहरुख खान र करीना कपुर बनेर क्यामेराको अगाडि ओठ हल्लाउन चाहन्छ । पुराना सेठहरूले पनि मजदुरको पसिनाबाट नाफा कमाउँथे । र, अहिले महासेठ आएका छन् ।
आजकल यस्तो लाग्छ कि केही अम्बानीका कामदार हुन् र बाँकी तिनै कामदारका कामदार । ५–६ महिनादेखि चलिरहेको बिहे हेर्दा लाग्छ, अम्बानी एक हातले हाम्रो खल्तीबाट पैसा निकालिरहेका छन् र अर्को हातले त्यही पैसा छोराको बिहेमा खर्च गरिरहेका छन् । थाहा छैन यति लामो उत्सव भारतको सफ्ट पावर देखाउन चलिरहेको छ वा सिर्फ छोराको दिल खुस गर्न । वा कतिपयले भनेझैं हामीलाई भनिएको छ, ‘अरे गरिब हो हेर र जल ।’
यो पनि सम्भव छ, अम्बानी परिवारलाई महसुस भइरहेको छ कि बिहेमा जतिसुकै करोड डलर खर्च भयो, आखिर हामीले पनि यो खर्चमा प्रत्येक रुपैयाँ योगदान गरेका छौं । उनीहरूले हामीलाई भनिरहेका छन्, तपाईंहरु पनि भिडियो हेर्नुहोस् र रमाइलो गर्नुहोस् । यसलाई हाम्रो हैन आफ्नै बिहे सम्झनुस् । कतिपयले त भारतमा अम्बानीको जति प्रभाव भारत सरकारको समेत नरहेको बताएका छन् ।
त्यसैले यो बिहे हुन सक्दैन वा अब बिहे सिध्याउ भन्ने हिम्मत कसैले गर्न सक्दैन । गरिबहरूले हात जोडेर प्रार्थना गर्नचाहिँ सक्छन्, भगवानले यो जोडीलाई सधैं आशीर्वाद दिउन् । तर यो बिहे अहिलेको लागि सकियोस् । अब टेन्ट लपेट्नुहोस् । प्रि–वेडिङ र वेडिङपछि पोस्ट वेडिङको उत्सव सुरु नगर्नुहोस् । यस्तो नहोस् कि हनिमुन होटलको बाहिर पनि क्यामेरा ठडिउन् र दलेर मेहन्दी बिहेको कुनै गीत गाउँदै गरेको देखिउन् ।
त्यसपछि त हामी कुनै कामको लागि योग्य हुनेछैनौं । अन्ततः नयाँ जोडीको पनि सन्तान हुनेछ । त्यसपछि तिनीहरू हुर्किनेछन् । त्यसपछि उनीहरुको पनि बिहे हुनेछ । त्यसको भार कसले बेहोर्ने ? हामीसँग मजदुरी गर्ने समय भएन र तपाईंको मोबाइल डाटाको बिल तिर्न सकेनौं भने यी बच्चाका पनि बच्चाको बिहेको खर्च कहाँबाट ल्याउने ?
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
मोहम्मद हनीफ । काठमाडौं