सूचनाको शक्ति - The Power Of Information

        

विद्युत प्राधिकरणमा कुलमानका तीन वर्ष : भए यस्ता उपलब्धि

पछिल्लो नियुक्तिबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए ।

कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफूबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको घिसिङले बताए ।

जसअनुसार ऊर्जा मन्त्रालयले गरेको कार्य सम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७८–०७९ र आव २०७९–०८० मा क्रमशः ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको उनले बताए । यस्तै आ.व. २०८०–०८१ को मूल्याङ्कनको क्रममा रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

उनका अनुसार आठ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२–०७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए ।

यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ भने अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको घिसिङले बताए ।

विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरेको पनि घिसिङले बताए । सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पुर्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताउँदै उनले बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको बताए ।

आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले बताए । प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको पनि उनले बताए । उनका अनुसार घर–घर र वस्ती–वस्तीमा बत्ती बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ ।

प्रगति विवरणको पूर्णपाठ :

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १४:४७

लोकप्रिय