सूचनाको शक्ति - The Power Of Information

        

मनसुन

तराईमा दिउँसोभन्दा राति धेरै वर्षा, विभागसँग छैन तथ्यांक

घाम एकदमै लागेको समय जमिन तातेर ‘लोकल क्लाउड’ जम्मा हुन्छ, र स्थानीय वायु विकास भई त्यो राति बढी सक्रिय भएर पानी पर्छ ।

मनसुन सिजनमा सामान्यतया दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ । पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा दिउँसोभन्दा राति झन् धेरै वर्षा हुन्छ । तराईमा पानी पर्न वायुमण्डलको तल्लो भागमा मनसुनी वायु सक्रिय हुनुपर्छ ।

रातको समयमा कम तापक्रम हुने भएकाले तल्लो भागमा रहेको बादल चिसो हुने र पानी पर्ने मौसमविद्हरूको भनाइ छ । घाम एकदमै लागेको समय जमिन तातेर ‘लोकल क्लाउड’ जम्मा हुन्छ, र स्थानीय वायु विकास भई त्यो राति बढी सक्रिय भएर पानी पर्ने गरेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

‘यस्तो अवस्थामा मनसुनी वायु र जमिन तातेर बनेको जलवाष्पबाट बनेको स्थानीय वायु दुईतिरबाट ठोक्किएर दिउँसो पनि पानी पर्ने सम्भावना हुन्छ,’ उनले भने, ‘तर सधैँ अचानक स्थानीय वायु विकास नहुने भएकाले तराईमा दिउँसो तुलनात्मक रूपमा राति र साँझको तुलनामा कम वर्षा हुन्छ ।’

पहाडी भू–भागमा भने बादल माथि जाने क्रममा पहाडमा ठोक्किएर वर्षा हुन्छ । बादल माथि जाँदा उचाइ धेरै भएकाले चिसिएर वर्षा बढी हुन्छ । मौसमविद् गोविन्द झा समग्रमा मनसुन सिजनमा दिउँसोभन्दा राति धेरै पानी पर्ने र तराईमा झन् धेरै राति वर्षा हुने प्रष्ट पार्छन् ।

‘दिउँसो सूर्यको हिटले जमिन तात्छ । यसले प्रेसर डिफरेन्स हुन्छ । मनसुनी वायु सक्रिय भएका बेला यसले पनि वर्षा गराउन ठूलो भूमिका खेल्छ,’ उनी भन्छन्, ‘मनसुन सक्रिय नभए पनि मनसुनी रेखा नेपालबाट नजिकै छ । बंगालबाट आउने र अन्यबाट पनि जलवाष्पयुक्त वायुलाई सपोर्ट हुन्छ, त्यसैले दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ।’

मनसुन सिजनको विगतको तथ्यांकले यसलाई पुष्टि गर्ने उनको भनाइ छ । दिउँसो जमिन तातेर बन्ने बाफ वायुमण्डलमा गएर बादल बन्ने र मनसुनी वायुका कारण मनसुनमा राति बढी वर्षा हुने गरेको मौसमविद् झा बताउँछन् ।

‘हुन त मनसुन सिजनमा दिउँसोभन्दा राति धेरै वर्षा हुने हो । तर बंगालको खाडीको जलवाष्पयुक्त वायु र सूर्यको तातोका कारण चुरे पर्वतको रेन्ज र त्यसभन्दा तलको क्षेत्रमा अझ धेरै रातिको समयमा वर्षा हुन्छ,’ उनी भन्छन् ।

दिनभर सूर्यको तातोले जमिनमा रहेको पानी वाफ बनेर वायुमण्डलमा जाने र त्यो राति पानी बनेर बर्सिने मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । ‘दिउँसो जमिन तातेर निस्किने बाफ वायुमण्डलमा जान्छ । राति तापक्रम घट्नेक्रममा त्यो बादल चिसिएर राति पानी पर्ने हो,’ मौसमविद् हुमागाईं भन्छन् ।

उनका अनुसार बिहानको तुलनामा दिउँसोदेखि नै बढी पानी पर्ने र राति झन् धेरै वर्षा हुन्छ । ‘जति तापक्रम चिसिँदै जान्छ, त्यति नै बादल चिसिएर वर्षा हुँदै जान्छ,’ उनले भने । बिहान र दिउँसोभन्दा साँझ र राति झन् धेरै वर्षा हुने भए पनि जल तथा मौसम विज्ञान विभागसँग यसको यकिन तथ्यांक भने छैन ।

केही समय अगाडिसम्म म्यानुअल वर्षा मापन केन्द्र रहेकाले रियल टाइम तथ्यांक नआउने विभागको भनाइ छ । ‘सन् २०१९ बाट स्वचालित जलमापन केन्द्रबाट रियलटाइम डाटा आउने गरेको छ । यसले दिउँसोभन्दा साँझ र राति झन् धेरै पानी पर्ने देखाएको छ,’ मौसमविद् हुमागाईं भन्छन्, ‘तर हामीले दिउँसोभन्दा राति कति प्रतिशत बढी वर्षा हुन्छ भन्ने तथ्यांक भने राख्ने गरेका छैनौँ ।’

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार ०८:१८

लोकप्रिय