सूचनाको शक्ति - The Power Of Information

        

जासुसी कि तस्करी ?

बाँकेमा कुटाई खाने जासुसहरुको काण्डैकाण्ड, स्थानीयदेखि प्रहरीसम्म हैरान

जासुसहरुले करिब तीन महिनाअघि भारतीय टोलीबाट मोटो रकम लिएर ‘डिजिटल करेन्सी विथ ड्र’ नामक क्रिप्टोकरेन्सीको कारोबार गर्ने कम्पनीलाई छोडिदिएको बुझिएको छ ।

कार्यालय प्रमुख ओम खड्का नेतृत्वको जासुसी टोलीबाट बाँकेका स्थानीयदेखि प्रहरीसम्म हैरान छन् । सूचना ल्याउन खटिनुपर्ने सूचकलाई उनले पैसा उठाउनमा परिचालन गरेका छन् ।

खड्काका विश्वासिलो पात्र हवल्दार गोविन्दजंग शाहले असुलीका लागि टोली नै बनाएका छन् । उनका पनि परिचालक बुद्धिप्रसाद शर्मा र उदय अधिकारीले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप छ ।

उनीहरूले आरा मिल, इँटाभट्टाबाट मासिक असुली गर्छन् । करिब तीन महिनाअघि भारतीय टोलीबाट मोटो रकम लिएर ‘डिजिटल करेन्सी विथ ड्र’ नामक क्रिप्टोकरेन्सीको कारोबार गर्ने कम्पनीलाई छोडिदिएको बुझिएको छ ।

कोहलपुरको चौराहास्थित लाहुरे रेष्टुरेण्टमा सेटिङ्ग मिलाएका उनीहरु क्रसर उद्योगका सञ्चालकलाई तर्साएर पैसा उठाउने धन्दामा समेत संलग्न छन् । ‘हामी विभागका प्रमुख हुतराज थापा र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको मान्छे’ भन्दै खुलेआम पैसा माग्छन् ।

दिन नमान्नेलाई मरणासन्न हुने गरी पिट्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका तत्कालीन प्रमुख सुवास बोहोराले गोविन्दलाई निकै साथ दिन्थे । प्रहरी नै असुलीकर्ताको पक्षमा भएकाले पीडितहरूको आवाज सुनिदिने कोही भएन ।

खुलेआम तस्करसँग हिँड्ने गोविन्दले कोहलपुरस्थित ट्रायल सेन्टरबाट मासिक उठाउने गरेका छन् । तस्करहरू लिएर गोविन्द कहिले कार्यालय प्रमुखको निवासमा पुग्छन् त कहिले होटलमा । उनको पहुँच यातायातदेखि मालपोत र नापीको उच्च तहसम्म छ ।

विवादित जग्गा मिलाएर पैसा असुल्ने धन्दा लामो समयदेखि चलिरहेको छ । कर्मचारीसँगको मिलिभगतमा लाभकर पनि छुट गराउँछन् । हुण्डी कारोबारमा पनि नाम मुछिएको छ । नेपालगन्ज निवासी एक सरदारलाई हुण्डीको कारोबार गर्न सहयोग पुर्याउँदै आएका छन् ।

‘अपराध’ हेरेर सूचक

चोरी, तस्करी सम्बन्धी सूचना आउने बित्तिकै कार्यालय प्रमुखले गोविन्दलाई जानकारी गराउँछन् भने गोविन्दले ‘अपराध’ हेरेर सूचक खटाउँछन् । कुनै तस्करीमा अर्जुन खड्का त कुनैमा तिलक खत्रीलाई परिचालन गरिन्छ ।

गोविन्दले दुई वर्षअघि तस्करहरूले ल्याएको दुई किलो सुन नेपालगन्जस्थित बसपार्कको एउटा होटलबाट लुटेका थिए । उनले कोहलपुर नगरपालिका–११ स्थित सिद्धार्थ ज्वेलर्सका सञ्चालक देवेन्द्र सुनारसँग मिलेर काम गर्छन् ।

प्रहरी जवानको शारीरिक परीक्षणमा छनौट गराइदिने प्रलोभन देखाएर युवाहरूबाट रकम बटुल्छन् । अख्तियारको नेपालगन्ज कार्यालयमा परेको उजुरी पनि मिलाइदिने भन्दै लाभ लिने गरेको बताइन्छ ।

प्रमुखलाई भिनाजु, आफूलाई असई

हवल्दार पदमा रहेका गोविन्दले आफूलाई असई भनेर चिनाउँदै आएका छन् । जाजरकोटको खलंगा घर भएका गोविन्दले काजमा खटिएको चार वर्षमा करोडौंको सम्पत्ति जोडेका छन् । ऐलानी जग्गामा बसोबास गर्दै आएका उनको घर २०७२ सालको भूकम्पले भत्किएपछि नेपालगन्जमै भव्य घर बनाएका र महङ्गो गाडी किनेका हुन् ।

रक्ताम्मे हुने गरी पिटाई

केही दिनअघि सूचक अर्जुनले नेपालगन्ज उपमहानगरपालिका–११ जमुनाहा नाकाको भन्सार नजिकैबाट नेपाल ल्याउँदै गरेको १८ लाख रूपैयाँँ बरामद गरे । उक्त रकम क्यासिनोका लागि ल्याइएको थियो ।

सो रकम नियन्त्रणमा लिएपछि क्यासिनोका जिएम अर्जुन खनालले मरणासन्न हुनेगरी कुटे । प्रहरीकै सामुन्ने रामधुलाई भेटेका उनको टाउकोमा ११ वटा टाँका लगाउनुपरेको थियो ।

प्रहरीले भने यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ । अर्जुन र तिलकले मासिक दुई लाख गोविन्दलाई बुझाउने गरेका छन् । भन्सारमा खटाएबापतको शुल्क हो त्यो ।

पत्रिकाको नाममा असुलीधन्दा

सुरक्षा राष्ट्रिय दैनिकको शेयर होल्डरसमेत रहेका सूचक उदय दुई महिनाअघि शेयर होल्डर दीपक शाही र जुहारीलाल चौलागाईंसँग विवाद परेपछि अलग्गिएका छन् । तैपनि उनले पत्रकार दिनेशराज उपाध्यायको नाम लिएर आफ्नो क्रियाकलापलाई गति दिइरहेका छन् ।

बाहिर उठाउने, भित्रको पनि नछोड्ने

कार्यालय प्रमुख खड्का, गोविन्द, अर्जुन, तिलक, उदय र बुद्धिबाहेक अन्य कुनै सूचकले सेवा सुविधा पाएका छैनन् । बाहिरबाट मासिक करोडौं असुल्ने उनीहरूले सूचकमाथि पनि शोषण गर्दै आएको बताइन्छ । यता, पैसा लिएर बढुवा गरिँदै आएको कुरा पनि छताछुल्ल भएको छ ।

२०७५ सालमा हवल्दार विजयराज विष्ट र महेश खड्काले पैसा दिएर बढुवा पाएका छन् । विजयराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुसन्धान सहायक छन् । महेश एसपी बासु सिग्देलको घरमा परिचालकको काम गर्छन् ।

स्रोत : जनआस्था साप्ताहिक
प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०६:१४

लोकप्रिय