सूचनाको शक्ति - The Power Of Information

        

मौसम खराबीले रारा विमानस्थलबाट उडान ठप्प, यात्रुहरु अलपत्र

मौसम खराबीका कारण तीन दिनदेखि मुगुको रारा विमानस्थलमा उडान हुन सकेको छैन । बर्षातको समयमा मौसममा खराबी आइरहँदा रारा विमानस्थलमा तीन दिनदेखि उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ ।

गएको शुक्रबार नेपालगन्जबाट समिट एयरले यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको सिन्जा क्षेत्रमा पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमानस्थल फर्केको थियो ।

आइतबार मौसम खुलेको भए पनि समिट एयरले पहिलो उडान हुम्ला, दोस्रो जुम्ला गरेपनि तेस्रो उडान राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिट एयरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गर्न वाध्य भएको थियो ।

तीन दिनदेखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगन्ज, सुर्खेत, काठमाडौं जाने यात्रुहरु अलपत्र परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च बढ्दै गएको यात्रुहरुको गुनासो छ ।

उडान नहुँदा मुख्यगरी वर्षे विदामा घर गएका शिक्षकहरु, बिरामी, प्रदेश कार्यालय, समीक्षा गोष्ठीमा गएका कर्मचारीहरू प्रभावित भएका छन् । रारामा नियमित उडान भर्ने ती निजी एयरलायन्सहरु मध्ये तारा एयर मर्मत सम्भारको लागि काठमाडौं र सिता एयरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एयरले मात्र उडान भर्दै आएको थियो ।

सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भामले आफ्नो एयरलायन्सले पनि मौसमले साथ दिए सम्भवत सोमबारबाट नियमित उडान गर्ने बताए । रारामा आफूहरुले नियमित उडान गर्दै आएपनि मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एयरका नेपालगन्ज स्टेसन प्रमुख वसन्त मल्लले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतवार १६:१९

लोकप्रिय