सूचनाको शक्ति - The Power Of Information

        

सात महिनामा पर्यटक आगमन उच्च, भारतीय धेरै

सन् २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिडअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को जुलाईसम्म नेपाल घुम्न आउने पर्यटकहरूको सङ्ख्या ६ लाख ४७ हजार ६१५ जना पुगेको छ ।

पछिल्लो चार वर्षको तुलनामा भने यस अवधिमा पर्यटक आगमन उच्च हो । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए भने २०२२ मा ४४ हजार ४६२, २०२१ मा ३ हजार ६३ र २०२० को जनवरीमा जम्मा १९६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

एकतिहाइ पर्यटक भारतीय

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२४ को जुलाईमा आगमन भएको कूल पर्यटक मध्ये एकतिहाइ अर्थात् ३३.२७ प्रतिशत भारतीय छन् । यस अवधिमा २१ हजार ४९१ जना भारतीय पर्यटक नेपाल आएका छन् ।

यसैगरी दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ७ हजार ८६४ जना, चीनबाट ६ हजार ८१८ जना, बेलायतबाट ३ हजार ८०६ जना नेपाल भित्रिएका छन् भने बंगलादेशबाट ३ हजार ४७० जना पर्यटक नेपाल आएकामा अस्ट्रेलियाबाट १ हजार ९०१ जना, दक्षिण कोरियाबाट १ हजार ५३७ जना, भुटानबाट १ हजार २०७ जना, मलेसियाबाट १ हजार १२५ जना र जापानबाट १ हजार ११४ जना नेपाल आएका छन् ।

यो तथ्याङ्क बाई एयर (हवाई मार्ग)बाट आउने पर्यटकहरूको मात्र हो । तुलनात्मक रूपमा हवाई मार्गबाट आउनेहरू भन्दा तीन गुणा बढी पर्यटक बाई रोड (स्थलमार्ग) हुँदै आउने गरेको पर्यटन बोर्डले जनाएको छ । यसमा पनि भारतीय पर्यटकहरू धेरै छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १५:०८

लोकप्रिय