सूचनाको शक्ति - The Power Of Information

        

आज बाघ दिवस : बर्दियामा पाटेबाघको सङ्ख्या १२५ पुग्यो

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या १२५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा १२८ पाटेबाघ रहेको बताइएको छ ।

जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ । ‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदैछ ।

अधिकृत वाग्लेले बाघ लगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाल लगायतका पूर्वाधार सँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताए ।

वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविक मार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ । गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताए ।

बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उनले भने, ‘वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालू वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १०:४०

लोकप्रिय