सूचनाको शक्ति - The Power Of Information

        

मकै गोड्न नमान्दा बालविवाहको उजुरी, दलित परिवार भोकै

एक अपाङ्ग दलित महिलालाई छिमेकीले मकै गोड्न बोलाउँदा उनले छोरी पराई घर गई सकेको भनेपछि फोनबाट प्रहरीमा बालविवाहको उजुरी परेको छ । महिलाले श्रीमानको मृत्युपछि आरनको काम बन्द हुँदा छोराछोरी हुर्काउन गाह्रो भएको गुनासो गरेकी छन् । बालविवाह गरेको उजुरीका आधारमा बैतडीको दशरथचन्द नगरपालिका–४ का अन्दाजी २१ वर्षीय किशन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा दशरथचन्द नगरपालिका–१ बस्ने किशोरी र उनकी अपाङ्ग एकल आमालाई पनि प्रहरीले अनुसन्धानका लागि बोलाएको छ । आमासँगै किशोरीका १२ वर्षीय अपाङ्ग भाइ पनि सँगै आएका छन् । स्थानीयबाट बालविवाह गरेको भन्ने उजुरी आएकाले मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

उनले प्रारम्भिक अनुसन्धानका क्रममा युवकको उमेर २१ वर्ष र नाबालिका भनिएकी किशोरीको उमेर १९ वर्ष रहेको जानकारी प्राप्त भएको बताए । यद्यपि, प्रहरीले स्पष्ट उमेर खुल्ने कागज प्रमाणको खोजी गरिरहेको बताइएको छ । किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको छ ।

कानुनले २० वर्ष नपुगी विवाह गर्न बन्देज लगाए पनि स्वास्थ्य कार्यालय बैतडीको २०८०–२०८१ को तथ्याङ्क अनुसार एक वर्षमा बैतडीमा २० वर्षमुनिका ३१९ जनाले बच्चासमेत जन्माएका छन् । एक वर्षको अवधिमा ३०० भन्दा बढी बालिकाले बच्चा जन्माउँदासमेत स्थानीय तहले बालविवाह रोक्न सकेका छैनन् । बालविवाहका घटनामा प्रहरीले युवा र युवतिलाई अलग गरेर अभिभावको जिम्मा लगाउँदै आए पनि दलित परिवारमाथि मुद्दा नै चलेको संभवत यो पहिलो घटना मानिएको छ ।

राजनीतिक दबाबमा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार लिखित उजुरी कसैको नआए पनि मन्त्रालय र विभागसम्म बालविवाह भएको गुनासो र राजनीतिक दबाब आएपछि मुद्दा चलाउनु परेको बताइएको छ । ‘बैतडीमा बालविवाहको अवस्था विकराल छ । कति जनालाई मुद्दा चलाउने ?,’ प्रहरी नायव उपरीक्षक गिरीले भने ।

उनका अनुसार यो पनि मुद्दा नै चलाउनुपर्ने अवस्था त होइन, तर मन्त्रालय र विभागबाट दिनदिनै फोन आउन थालेपछि चलाउनु परेको हो । दलित महिलाका छिमेकी लेनै बालविवाह भएको भन्दै काठमाडौँबाट प्रहरी विभाग, मन्त्रालयसम्म मुद्दा चलाउन दबाब दिएको बताइएको छ । बैतडी प्रहरीले राजनीतिक दबाब दिने व्यक्तिको परिचय भने सार्वजनिक गरेको छैन ।

बालिकाकी आमा युवकको घरमा

प्रहरीले छोरी र युवकलाई लगेको खबर पाएपछि दशरथ चन्द नगरपालिका–१ बस्ने किशोरीकी आमा मुन्नी लुहार युवकको घर दशरथ चन्द नगरपालिका–४, तिर गाउँ पुग्नु भएको छ । उहाँको साथमा १२ वर्षको अपाङ्ग छोरा छ ।

घटना बारे सुनाउँदै किशोरीकी आमाले भनिन्, ‘श्रीमानको मृत्यु भएको १२ वर्ष भयो । आरन पेसाबाट बालीघरेको काम गरेर छाक टार्दै आई रहेका थियौँ । श्रीमानको मृत्युपछि आरन बन्द भयो । गाउँका गैर दलितको घरमा घाँस दाउरा काट्दै खेतीपातीका बेला काममा सघाएर अन्न माग्दै छोराछोरी हुर्काए ।’

आँसु खसाल्दै उहाँले अगाडि भनिन्, ‘गएको असारमा गाउँका गैर दलितले मकै गोड्ने बेला भयो, आउनू भनेका थिए । पालनपोषण गर्न नसकेपछि छोरीलाई इष्टमित्र नाता पर्नेको घरमा दिइसकेकाले मकै गोड्न आउन नसक्ने भने । मकै गोड्न नसक्दा गाउँका मानिसले प्रहरीलाई फोन गरेपछि अहिले बालविवाहको मुद्दा चलेको छ ।’

‘भोकै बस्दा कसैले सोधेन’

युवतिकी आमा मुन्नी लुहारले आरनको काम गर्ने श्रीमानको मृत्युपछि कयौँ दिन छोराछोरी भोकै बस्दा कसैले पनि सोधखोज नगरेको बताए । छाक टार्ने अन्न नहुँदा छोरी विद्यालय जान सकिनन् । घरमा छाक टार्ने अन्न नहुँदा किशोरीले चार वर्षअघि विद्यालय छाडिन् । छिमेकीको घरमा काम गरेर मिलेको अन्नले आमा, अपाङ्ग छोरा र युवतिले छाक टार्दै आइरहेका थिए ।

युवतिकी आमाले बताए अनुसार अर्कोको घरमा कति दिन काम गरेर पेट पाल्ने ? भन्दै गएको जेठ ४ गते छोरीलाई पालनपोषण गर्ने र २० वर्ष पुगेपछि विधिवत् रूपमा विवाह गर्ने सहमति भएको थियो । देवीदेवता साक्षी रोखेर छोरीलाई पालन पोषण गर्न ज्यामी काम गर्ने इष्टमित्रको घर पठाएको युवतिकी आमा मुन्नी लुहारले बताइन् ।

मुद्दा चलेपछि दुई परिवार भोकभोकै

बालविवाहको उजुरीपछि कमाउने युवक थुनामा परेपछि दलितका दुई परिवारलाई छाक टार्न धौधौ परेको छ । २१ वर्षीय किशन तिरुवा ज्यामी काम गरेर परिवार पाल्दै आई रहेका थिए । किशनको घरमा पनि बिरामी आमा बुवा र एक भाइ छन् । कमाउने छोरो पाँच दिनदेखि प्रहरी हिरासतमा रहेपछि परिवारको बिचल्ली भएको युवककी आमा पार्वती तिरुवाले बताइन् ।

घरमा दाल, चामल र नुन सकिएको उनले पीडा सुनाइन् । युवकका बुवा जन्डिस रोग लागेर ओछ्यानमा थला परेका छन् । बालविवाहको मुद्दा चलेपछि ज्याला मजदुरी गरेर छाक टार्दै आई रहेका दुई दलित परिवार एउटै छानामुनि भोक भोकै बसिरहेको स्थानीय प्रेम बोगटीले बताउनुभयो । छाक टार्ने अन्न नहुँदा आफूले सक्दो सहयोग गरेको उनले बताए । छिमेकीले एक दुई माना चामल दिएपछि चुलो बल्ने गरेको दलित परिवारको भनाई छ ।

बस्ने घर छैन

बाल विवाहको मुद्दामा प्रहरी हिरासतमा रहेका किशन तिरुवाको बस्ने घर छैन । चार वर्ष अघि नेपाल सरकारले बुवा आमाका लागि बनाई दिएको निलो रङ्गको कर्कटपाताले छाएको तीन कोठे भूँइतले घरमा दुई परिवार बस्दै आएका छन् । खेतबारी नहुँदा ज्याला मजदुरी गरेर छाक टार्दै आएको युवकी आमा पार्वती तिरुवा पीडा सुनाइन् । कमाउने छोरा प्रहरी हिरासतमा परेपछि दलित परिवारलाई साँझ बिहानको छाक टार्न धौधौ परेको छ ।

बैतडीमा ३२ प्रतिशत बालविवाह

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बैतडीमा १५ देखि १७ वर्षको उमेरमा बालविवाह गर्नेको सङ्ख्या ३२.३ प्रतिशत रहेको पाइएको छ । जनगणना अनुसार दशरथचन्द नगरपालिकामा मात्रै बालविवाह गर्नेको सङ्ख्या १०.६ प्रतिशत रहेको छ । बालविवाह रोक्न जिल्लामा गएको १२ वर्षदेखि संयुक्त राष्ट्रिय जनसङ्ख्या कोष लगायतका संस्थाले करोडौँ रुपियाँ खर्च गरेर सचेतना अभियान चलाए पनि बालविवाह रोकिन सकेको छैन ।

स्थानीय तहको सरकारेसमेत बालविवाह हुने कारण पत्ता लगाएर निवारण गर्न सकेका छैनन् । स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तथ्याङ्क अनुसार २० वर्ष नपुग्दै गर्भवती हुने आमाको सङ्ख्या बढ्दै गइरहेको छ । कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार बालविवाह गरेपछि २० वर्ष नपुग्दै गर्भवती हुन नदिन स्थानीय तहले सचेतना अभियान चलाउन नसक्दा वर्ष २०८०–२०८१ मा २० वर्षमुनिका ३१९ जना गर्भवतीले बच्चा जन्माएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार ११:३२

लोकप्रिय