चितवनको फिस्लिङमा पहिरो जाँदा अढाई घण्टादेखि मुग्लिन काठमाडौँ सडक अवरुद्ध भएको छ । सोमबार बिहान पौने पाँच बजे सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
डोजर र स्काभेटरको प्रयोग गरेर केही समयअघिबाट पहिरो पन्छाउने काम सुरु भएको प्रहरीको भनाई छ । पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ । यसले काठमाडौँबाट बाहिरिँदै गरेका र देशका विभिन्न स्थानबाट काठमाडौँ भित्रिँदै गरेका हजारौँ यात्रु मर्कामा परेका छन् ।
यसअघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केही बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार
