सूचनाको शक्ति - The Power Of Information

        

खाडीबाट युरोपतिर सर्दै नेपाली कामदार

गत आर्थिक वर्ष २०८०–०८१ मा श्रम वैदेशिक रोजगारीमा जान स्वीकृति लिनेमध्ये ८२.७४ प्रतिशतभन्दा बढी मात्र पाँच देश गएको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ७ लाख ४१ हजार २९७ जना नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा गएकामध्ये ६ लाख १३ हजार ४१९ जनामात्र पाँच देश गएका थिए । नेपालीको सबैभन्दा आकर्षक गन्तव्यमा परेका ती पाँच देश हुन्, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, मलेसिया र कुवेत । गत आर्थिक वर्ष अर्थात् २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका क्रममा सबैभन्दा ठूलो संख्यामा नेपाली यूएई पुगेका छन् ।

एक वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा १ लाख ९३ हजार ४३८ जना नेपाली यूएई पुगेको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये २६.०९ प्रतिशतभन्दा बढी यूएई पुगेका छन् । आर्थिक वर्ष २०८०–८१ मा नेपालबाट रोजगारी खोज्दै देस्रो ठूलो संख्या साउदी अरब पुगेको छ । साउदीमा श्रम स्वीकृति लिएर गत वर्ष १ लाख ४१ हजार ५०२ जना नेपाली गएका थिए ।

वैदेशिक रोजगारीका क्रममा तेस्रो ठूलो संख्या कतारमा पुगेको छ । गत आर्थिक वर्ष मात्र १ लाख ३४ हजार ६६९ जना नेपाली कतार गएका थिए । वैदेशिक रोजगारीमा चौथो ठूलो संख्या मलेसिया पुगेको देखिन्छ । गत वर्ष १ लाख ३ हजार ४४२ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएको विभागको तथ्याङ्कले देखाउँछ ।

चारवटा देश यूएई, साउदी अरब, कतार र मलेसियामा गत आर्थिक वर्ष प्रत्येकमा एक लाखभन्दा बढी नेपाली पुगेका थिए । बितेको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा पाँचौ ठूलो संख्या कुवेत पुगेको थियो । गत वर्ष कुवेतमा ४० हजार ३६८ नेपाली गएका थिए । वैदेशिक रोजगारीमा गएकामध्ये ९६ प्रतिशतभन्दा बढी यी १५ देशमा गएका थिए ।

यूएई, साउदी, कतार, मलेसिया र कुवेतपछि गत वर्ष रोजगारीका क्रममा सबैभन्दा बढी नेपाली क्रमसः क्रोयसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन, माल्दिभ्स, मौरिसस्, साइप्रस, ओमन र माल्टा गएका थिए । गत वर्ष जापानमा १३ हजार ८६४, दक्षिण कोरियामा १३ हजार २६ र इजरायलमा १ हजार ५ जना नेपाली गएका थिए ।

युरोपमा बढ्दै नेपाली कामदारको माग

गत आर्थिक वर्ष २०८०–०८१ मा वैदेशिक रोजगारीमा गएकाहरुको तथ्याङ्कले नेपाली कामदारको माग युरोपेली राष्ट्रमा बढेको देखाएका छ । अर्थात खाडी राष्ट्र र मेलसियाबाट नेपाली कामदार अब युरोपेली राष्ट्रमा सर्दै गरेको तथ्याङ्कले देखाउँछ । केही वर्षअघिसम्म वैदेशिक रोजगारीका क्रममा नेपाली कामदार खाडी राष्ट्र र मलेसिया मात्र जाने गर्थे ।

सानो संख्या जापान र दक्षिण कोरिया जाने गथ्र्यो । तर पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर युरोपेली राष्ट्र जाने नेपालीको संख्या उल्लेखनिय रुपमा बढ्दै गएको छ । गत आर्थिक वर्ष १५ हजार ३६४ जना नेपाली युरोपेली राष्ट्र क्रोयसिया वैदेशिक रोजगारका लागि गएको विभागको तथ्याङ्कले देखाउँछ । श्रम स्वीकृति लिएर १५ हजार २१ जना नेपाली बितेको एक वर्षमा रोमानिया गएका थिए ।

विभागका अनुसार गत वर्ष श्रम स्वीकृति लिएर ७ हजार ४०८ जना मौरिसस्, ६ हजार ९५० जना साइप्रस, ५ हजार ६६८ जना माल्टा, २ हजार ५४४ जना बेलायत, १ हजार ९६९ जना पोल्याण्ड, १ हजार ९२० जना सर्विया, १ हजार ६७९ जना बुल्गेरिया, ७९२ जना अष्ट्रिया, ७२२ जना सिसिलिज्, ६२७ जना पोर्चुगल, ५०१ जना टर्की, ३९० जना स्लोभाकिया, ३८८ जना हंगेरी, ३७८ जना बोस्नीया, ३३३ जना स्लोभेनिया र ३११ जना अल्बानिया गएका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा ७ हजार ४४१ जना क्रोएसिया, ५ हजार ३१७ जना साइप्रस, ५ हजार ११२ जना पोल्याण्ड, ७३२ जना पोर्चुगल, १४ हजार २२५ जना रोमानिया, ३८६ जना रुस, ९६२ जना सर्विया, २ हजार २६४ जना बेलायत, ६ हजार ३०३ जना माल्टा र ५३६ जना मौरिसस् श्रम स्वीकृति लिएर गएका थिए । गत आर्थिक वर्ष २०८०–०८१ मा युरोपका अलवा अन्य देशमा पनि नेपाली वैदेशिक रोजगारीका क्रममा पुगेको देखिन्छ ।

माल्दिभ्समा ७ हजार ४५५, बहराइनमा ९ हजार ८०६, मकाउ (चीन) मा २ हजार ३९, ब्रुनाईमा ७६२, क्यानडामा ६५८, न्यूजल्याण्डमा ४८३, रुसमा ४७६, म्यासेडोनियामा ४६९, अमेरिकामा ४५८ र अष्ट्रेलियामा ३८६ जना नेपाली श्रम स्वीकृति लिएर गएको विभागको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १०:०९

लोकप्रिय