सूचनाको शक्ति - The Power Of Information

        

सिमलताल घटना : अझै ४५ यात्रु र बसको अवस्था अज्ञात

नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्सका चालक र सहचालकको शव फेला परेको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव घटनास्थलभन्दा १०३ किलोमिटर पर नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेजनजिकै फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ ।

भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् । १७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन् । अझै ४५ यात्रु र बसको अवस्था अज्ञात छ ।

६ दिनअघि त्रिशूली नदीमा खसेका दुईवटा बसको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभिन्न प्रविधिको प्रयोग गरेर खोेजी गरे पनि अहिलेसम्म बस भेटाउन सकिएको छैन । यात्रु तथा बसको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी झण्डै ५०० सुरक्षाकर्मीहरु परिचालित गरिएक छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १३:५५

लोकप्रिय