सूचनाको शक्ति - The Power Of Information

        

पूर्णविद्युतीय विमान बनाउँदै डच कम्पनी

व्यावसायिक उड्ययन क्षेत्र यतिबेला आफ्नो व्यवसायले जलवायुमा पार्ने प्रभाव कम गर्न संघर्षरत् छन् । सन् २०५० सम्ममा यो क्षेत्रले नेट जिरो उत्सर्जनको लक्ष्य कसैगरी पनि पूरा नगर्ने देखिन्छ । दिगो उड्ययन इन्धन पर्याप्त हुने गरी द्रुत गतिमा उत्पादन गर्न सकिएको छैन । यस्तोमा परम्परागत इन्धनबाट चल्ने विमानको विकल्प कमै मात्रै देखिन्छन् ।

तर डच स्टार्ट अप कम्पनी एलिसियनले पूरै विद्युतीय हवाई विमान बनाउन लागेको छ । यो विमानले एक पटकमा ९० जनासम्म यात्रीहरू बोकेर ५०० माइल (८०५ किमी) सम्मको यात्रा गर्न सक्नेछ । विमानले ९० प्रतिशतसम्म उत्सर्जन घटाउन सक्ने बताइएको छ । कम्पनीले एक दशकभित्र यो विमानको व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । यो विमानको नाम ई९एक्स हो । अहिलेसम्म विमान कागजमा मात्रै सीमित छ ।

सन् २०३० सम्ममा कम्पनीले यसको पूर्ण प्रोटोटाइप बनाउने बताइएको छ । तर यसका केही डिजाइन फिचरहरू प्रष्ट छन् । ‘विद्युतीय प्लेन आजका सफल प्लेन जस्तै देखिनेछन् भनेर चाँहि नसोच्नुहोला,’ एलिसियनका डिजाइन र इञ्जिनियरिङ निर्देशक रेलार्ड दि भ्रीसले भनेका छन् । तर यो सन् १९६० को दशकका जेट जस्तै देखिने उनले बताए । विमानको संरचनात्मक वजन कम हुने र ब्याट्रीको वजन धेरै हुने पनि उनले बताए ।

यसका कारण विमान ठुलो र गह्रुँगो पनि हुनेछ । तर विमान यसअघि मान्छेले सोच्ने गरेको भन्दा धेरै टाढासम्म उड्न सक्ने बताइएको छ । विमानमा ८ वटा प्रोपेलर इञ्जिन हुनेछ । यसको पङ्खा १३८ फिट (४ मिटर)को हुनेछ । यो बोइङको ७३७ वा एयरबसको ए ३२० भन्दा पनि ठुलो हुनेछ । एलिसियनले नेदरल्यान्डको सबैभन्दा पुरानो र ठुलो प्राविधिक विश्वविद्यालय डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा विमानको डिजाइन बनाएको हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १८:२६

लोकप्रिय