सूचनाको शक्ति - The Power Of Information

        

बेहुली साटिएको भन्दै बिहेमै बेहुलाले गरे हङ्गामा

बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले हङ्गामा गरेपछि प्रहरीले मामिलामा हस्तक्षेप गर्नु परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यको मुजफ्फरपुरमा शुक्रबार राति यो घटना भएको हो ।

मुजफ्फरपुरकै गाइघाट निवासी टुनटुन कुमारको विवाह सपना कुमारीसँग तय भएको थियो । जन्तीसहित बिहेका लागि बेहुलीको घर पुगेका टुनटुन कुमार स्वयंवरका लागि आएकी बेहुलीको अनुहार हेरेपछि आश्चर्यचकित भए । किनकि उनले बिहेको निधो गरेको युवती नभएर अर्कै युवती बेहुलीको भेषमा आएकी थिइन् ।

त्यसपछि बेहुलाले बेहुली साटिएको भन्दै हङ्गामा गरे । उनले ती युवतीसँग बिहे नगर्ने अडान लिए । बिहे रोकिएपछि बेहुलीको परिवारले टुनटुन कुमारसँगै बिहे गर्ने निधो भएकी सपना कुमारीलाई बिहेका लागि मनाउन थाले । सपना कुमारीले ‘लहङ्गा’ मन नपरेको भन्दै बिहेका लागि अस्वीकार गरेपछि उनीहरूले सपना कुमारीकी बहिनीलाई बेहुली बनाएर पठाएका थिए ।

तर सपना कुमारीले फेरि पनि बिहेका लागि अस्वीकार गरिन् । त्यसपछि मामिला प्रहरीसम्म पुग्यो । प्रहरीले दुवै पक्षलाई थानामा बोलाएर छलफल गर्यो । थाना प्रमुख संजीवकुमार दुवेको पहलमा दुवै पक्षबिच सहमति भयो । त्यसपछि मन्दिरमा गएर टुनटुन र सपना कुमारीबिच विवाह सम्पन्न भयो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १५:४२

लोकप्रिय