तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रञ्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।
रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।
उनले भने, ‘सात महिनाअघि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यस अगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।’ गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे ।
‘फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्,’ गुरुङले भने । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिए ।
उनले भने, ‘घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।’ आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरे ।
उनले भने, ‘मेरो वडाले एक होनहार युवा गुमाएको छ ।’ रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं